
ललितपुर - साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन सामान्य बढेको बजार शुक्रबार भने दोहोरो अंकले घटेको हो ।
बिहीबार नेप्से ०.२६ अंकले बढेर २ हजार ५९९.१५ विन्दुमा बन्द भएको थियो । शुक्रबार सेन्सेटिभ इन्डेक्स १.७४ अंकले घटेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७१ अंकले घटेका छन् ।
नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँबराबरको कारोबार भएकोमा शुक्रबार ३५६ स्टकको ४३ हजार ६८५ पटकको कारोबारमा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन १ करोड १९ लाख १२ हजार कित्ता शेयर किनबेच भएका छन् ।
शुक्रबार एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ। १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर २०८९ को मूल्य करिब ९ प्रतिशत बढेको छ । माण्डु हाइड्रोपावरको शेयरमूल्य पनि करिब साढे ५ प्रतिशत बढेको छ ।
यस दिन कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ८.५५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ । उक्त ऋणपत्रको २६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको करिब साढे १५ करोड रुपैयाँ र आँखुखोला जलविद्युत कम्पनीको करिब १५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूह घटेका छन् । म्युचुअल फन्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन् ।
उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ०.७३ प्रतिशत घटेको छ । बाँकी अधिकांश उपसमूहमा पनि गिरावट देखिएको छ ।

बिजनेस पाटी













