
ललितपुर - संयुक्त अरब इमिरेट्स (युएई) ले इजरायली विमानलाई दुबईमा अवतरण गर्ने अनुमति फिर्ता लिएपछि इजरायलको प्रमुख विमान सेवा एल अलले दुबईमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउने शुक्रबारका उद्धार उडान रद्द गरेको छ ।
एल अलले एलवाई ९७४–१ र एलवाई ९७२ उडान रद्द गरिएको जनाएको छ । अर्को साताका लागि निर्धारित उडान भने समयतालिकामै रहेको र ती उडान पूर्ण रूपमा बुक भइसकेको कम्पनीले जनाएको छ । इजरायली र इमिराती अधिकारीबीच लामो छलफलपछि विमान अवतरणका लागि अन्तिम अनुमति प्राप्त हुन नसकेको जनाइएको छ ।
उडान रद्द भएको घटना सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभतर्फ आएको फ्लाईदुबईको विमानमा भएको गम्भीर सुरक्षा घटनापछि भएको हो । उक्त घटनामा ओमानी सहपाइलटले विमानका कमान्डरमाथि आक्रमण गरी विमान तल झार्ने प्रयास गरेको आरोप लगाइएको छ ।
गम्भीर घाइते भए पनि क्याप्टेन स्मिट मच्छरले आक्रमणकारीको प्रतिरोध गर्नुभएको थियो । चालक दल र यात्रुको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानको कमान्ड पुनः कायम गरिएको थियो । विमानले साउदी अरबको तबुकमा आपत्कालीन अवतरण गरेको र १८० यात्रु सुरक्षित रहेको जनाइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार घटनाका बेला विमान इजरायली हवाई क्षेत्रनजिकै थियो । उहाँले क्याप्टेन मच्छरले सहपाइलटलाई नियन्त्रणबाट हटाउन सफल हुनुभएको तथा दुई गैरड्युटी उडानकर्मीले विमान सम्हालेको बताउनुभएको छ । सहपाइलट ओमानमा जन्मिएको र ओमानी नागरिक रहेको एक ओमानी अधिकारीले बताएका छन् ।
नेतान्याहुले सहपाइलट इस्लामवादी कट्टरपन्थी विचारबाट प्रभावित भएको अनुसन्धानबाट देखिएको दाबी गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहपाइलटको तेहरानसँग सम्बन्ध हुन सक्ने आफूले सुनेको बताउनुभएको छ । यद्यपि इरानको संलग्नताबारे निष्कर्षमा पुग्न अझै समय लाग्ने नेतान्याहुले बताउनुभएको छ । इजरायली अधिकारीहरूले घटनाको थप अनुसन्धान गरिरहेका छन् ।
यसैबीच, युएईका लागि भारतका राजदूत दीपक मित्तलले क्याप्टेन मच्छरको अवस्था स्थिर रहेको र उहाँ युएईको अस्पतालमा उपचाररत रहनुभएको पुष्टि गर्नुभएको छ । उहाँले क्याप्टेन मच्छरको साहसको प्रशंसा गर्दै सयौँ यात्रुको ज्यान जोगाउन उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

बिजनेस पाटी
















