
ललितपुर - विश्व लगानीकर्ता सप्ताह–२०२६ को अवसरमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरेको छ । कम्पनीले असोज २१ गते इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत थापाथली क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका लागि कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा आरविवि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र सहायक प्रबन्धक सृजना बाँस्कोटाले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीले उठाएका प्रश्नको जवाफ पनि कम्पनीका प्रतिनिधिले दिएका थिए ।
विश्व लगानीकर्ता सप्ताह–२०२६ को अवसरमा आयोजित कार्यक्रममा लगानीकर्ता सचेतना, डिजिटल प्रविधिमार्फत लगानी तथा डिम्याट खाता सम्बन्धी विषयमा छलफल गरिएको थियो । साथै, मर्चेन्ट बैंकिङका काम तथा सेवाबारे पनि सहभागीलाई जानकारी गराइएको कम्पनीले जनाएको छ । कार्यक्रमले पूँजीबजार तथा सेयर लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने र सहभागीले डिजिटल डिम्याट खाता लगायतका विषयमा जानकारी हासिल गरेको कम्पनीको भनाइ छ ।
विश्व लगानीकर्ता सप्ताह–२०२६ नेपाल धितोपत्र बोर्डको आयोजनामा असोज १९ देखि २५ गतेसम्म देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले सप्ताह आयोजना गरिएको हो । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था हो ।



बिजनेस पाटी


