राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र सर्वसाधारणका लागि खुला

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २८
|
2.2k views

ललितपुर - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने ३ अर्ब रुपैयाँ बराबरको ‘६५ आरबिबिएल डिबेन्चर २०८९’ सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

बैंकले असोज २९ गतेदेखि उक्त ऋणपत्रको बिक्री खुला गरेको हो । सात वर्ष अवधि रहेको ऋणपत्रमा लगानीकर्ताले कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक १२ गतेसम्म थप गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिइकाई एक हजार रुपैयाँ अंकित मूल्य रहेको ऋणपत्रका लागि न्यूनतम २५ इकाईदेखि अधिकतम उपलब्ध सम्पूर्ण इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

    कुल ३० लाख इकाई ऋणपत्र निष्कासन गरिएकोमा ६० प्रतिशत अर्थात् १८ लाख इकाई व्यक्तिगत तवरबाट बिक्रीका लागि छुट्याइएको छ । बाँकी ४० प्रतिशत अर्थात् १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रको कुल मूल्य एक अर्ब २० करोड रुपैयाँ रहेको छ ।

      यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

      वि.सं. २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले ७७ वटै जिल्लाका सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्दै ४९ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा, मोबाइल बैंकिङ तथा अन्य डिजिटल बैंकिङ सेवा उपलब्ध गराइरहेको जनाएको छ ।

      बैंकका सूचना अधिकारी तथा उपकार्यकारी अधिकृत भीमप्रसाद घिमिरेका अनुसार ऋणपत्रमा तोकिएको समयभित्र आवेदन दिन सकिनेछ ।

       पात्रो/राशिफल  रेडियो YouTube