
ललितपुर -
आन्ना ढुङ्गेल नीता
शरद ऋतुको मन्द–शीतल स्पर्शसँगै प्रकृतिले रूप फेरेको थियो। बारीका कान्ला र डिलभरि पहेंलपुर भएर मुस्कुराइरहेका सयपत्री र कहिल्यै नओइलाउने अठोट बोकेका बैजनी मखमलीका थुँगाहरूले सारा परिवेशलाई नै स्वर्णिम आभा दिइरहेका थिए। बडादसैँको पदचाप भर्खरै मात्र आँगनबाट ओझेल परेको थियो भने तिहारको मधुर सङ्गीतले समस्त धर्तीलाई पुलकित तुल्याइरहेको थियो।
सहरदेखि गाउँसम्म मानिसहरू आफ्ना जीर्ण आस्थाहरू पखाल्दै नयाँ उमङ्ग भर्न तल्लीन थिए। घर–आँगनमा पोतिएका नयाँ रङहरू, साँझपख झलमल्ल बल्ने दीपमालाका लस्करहरू र तिहारको स्वागतमा हतारिएको बजार— चारैतिर उत्साहको समुद्र उर्लिरहेको थियो। तर, प्रकृतिको यही मनोरम क्यानभासभित्र मालतीको संसार भने रङ्गहीन र शून्य थियो।
झ्यालको सानो छेकोबाट बाहिर हेर्दै गर्दा मालतीलाई न त आँगनमा चलमलाउने भँगेराहरूको चिरबिरले स्पर्श गर्थ्यो, न त हावाको झोक्कासँगै नाच्ने सयपत्रीको मादक सुवासले नै। उनको चेतना कुनै अनन्त रिक्ततातर्फ टोलाइरहेको थियो।
गत भदौ १० को त्यो कालो दिन, जब भोटेकोशी र त्रिशूली नदीको उर्लँदो बाढीले भूगोल मात्र चिरेन, मालतीको जीवनको उज्यालो नै निलिदियो। नदीको त्यो क्रूर गर्जनले उनको मुटुको टुक्रा— एक मात्र भाइ समीपलाई सदा सदाका लागि आफूसँगै बगाएर लग्यो। बाल्यकालका ती मीठा नोकझोकहरू अझै मालतीका स्मृतिमा ताजा थिए। भाइसँग स–साना कुरामा जिस्कँदा मालती भन्थिन्, “पर्ख, यसपालिको भाइ टीकामा तँलाई टीका नै लगाइदिन्नँ१” अनि समीप डराएर दिदीको काखमा लुटपुटिँदै भन्थ्यो, “दिदी, त्यसो नभन न, म तिम्रो सबै कुरा मान्छु।” तर आज, न त्यो घुर्की सुन्ने कोही थियो, न त घुर्की लाउने दिदी नै पूर्ण थिइन्।
उनका हातमा मखमलीका फूलहरू थिए, तर ती फूल उनलाई काँडाजस्तै बिझाइरहेका थिए। बाढीले भाइको देह मात्र होइन, मालतीको भाइ टीकाको साइत, ओठको मुस्कान र तिहारको सम्पूर्ण उज्यालो नै बगाइदिएको थियो।
बर्खाको विपत्तिले हजारौँ सपनाहरू भत्काएर केवल माटो मात्र बगाउँदैन, कयौँ दिदीबहिनीका हात र दाजुभाइका निधारहरूलाई आजीवन रिक्त बनाइदिन्छ।
चारैतिर सयपत्री र मखमलीका फूलहरू फक्रिएर उत्सवमय परिवेश बने पनि प्राकृतिक विपत्तिका कारण भाइ गुमाएकी मालतीका लागि भने यो तिहार केवल गहिरो पीडा र अनन्त शून्यताको प्रतीक बनेको छ। घर आँगनमा झिलिमिली बत्ती बालेर सप्तरङ्गी टीका र दियोको थाली सजिए पनि निधार सजाउने भाइ नै नभएपछि सदा सदाका लागि मालतीले उनेको मखमलीको माला अपुरो र अतृप्त बन्ने भएको छ । कहिल्यै नओइलाउने त्यो मखमलीले दीर्घायुको कामना गर्नुको साटो अब केवल बितेका बालापनका सम्झना, माया र कहिल्यै नमेटिने अभावलाई मात्र ब्युँझाएर मनभित्र आँसुको भेल बगाइदिएको छ।
अश्रु धारा पुछ्दै मालतीले आँगनको मखमलीलाई सुमसुम्याइन्। प्रकृतिको त्यो कहिल्यै नओइलाउने फूलले उनलाई मौन सन्देश दिइरहेको थियो— भौतिक शरीर विलीन भए पनि आत्मा र आत्मीयता कहिल्यै मर्दैनन्। जीवन र प्रकृतिको यो चक्रमा विनाश जति शाश्वत छ, त्यति नै शाश्वत छ मायाको त्यो अमिट रङ्ग। नदीले भाइलाई खोसे पनि समीपको सम्झना र दिदी–भाइको त्यो अटुट बन्धन मखमलीझैँ सधैँ अजम्मरी रहनेछ।



बिजनेस पाटी