वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख ९
|
306 views

ललितपुर - कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीले जानकारी दिए।

उनका अनुसार संक्रमित सबै युवा उमेरका छन्। संक्रमितमध्ये केही पहिले पनि संक्रमण भइसकेको उनले बताए। अहिले संक्रमित मध्ये अधिकांशलाई लक्षण देखिएको उनले जानकारी दिए।

डा. कार्कीले भने,’कोरोनाविरुद्धको खोप दुवै मात्रा लगाइ सकेकालाई पनि संक्रमण भएको छ। संक्रमण बढिरहेकाले यसमा सबैले सावधानी अपनाउनुपर्छ। सामाजिक दूरी कायम गरी मास्क लगाउनुपर्छ।’ पहिलो चरणमा देखिएको संक्रमित र अहिले देखिएकामा लक्षण फरक नभएको उनको दाबी छ। 

कोरोना संक्रमितका लागि वीर अस्पतालमा हाल ६३ बेड रहेको छ। १० वटा आइसियु र १० भेन्टिलेटर रहेको उनले जानकारी दिए। दैनिकजसो संक्रमित थपिएकाले अस्पतालमा बेडको संख्या थपिँदै लगिएको उनले जानकारी दिए।

दैनिक १० जनाको हाराहारीमा संक्रमित थपिइरहेका छन्। कुल संक्रमित ६२ जनाले अस्पतालमा उपचार गराइरहेका छन्। आइसियुमा ८ जना र भेन्टिलेटरमा ३ जना राखी उपचार गरिरहेको उनले बताए।

 पात्रो/राशिफल  रेडियो VIDEO YouTube