
काठमाडौं । आज (बुधबार) संसदको दुवै सदनको बैठक हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज एकै दिन हुँदैछन्। निर्धारित समय अनुसार अहिले बिहान ११ः०० बजेका लागि प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि( सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले ‘संवैधानिक परिषद्सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
‘त्यसैगरी बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
त्यसैगरी, अपराह्न १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । सो प्रधानमन्त्री ओलीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछन्।
त्यसपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुने आजको कार्यसूची छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया