२०८२ भाद्र ६ | Aug 22, 2025

घाम, छाला र सनस्क्रिन

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १४

सूर्यबाट निस्किने हानिकारक किरणहरुको कारणले हुने क्षतिबाट छालालाई जोगाउन प्रयोग गरिने साधन नै  सनस्क्रिन, सन ब्लक वा सनक्रिम  हो । सूर्यबाट निस्किने ताप र  प्रकाश हाम्रो लागि उपयोगी भए पनि पराबैजनी किरणहरु (Ultraviolet rays) छालाको लागि हानिकारक हुन्छन् । विभिन्न अध्ययनहरुका अनुसार जन-मानसमा घामको नराम्रो  असर र यसबाट जोगिने उपायहरुबारे पर्याप्त ज्ञान नभएको देखिएको छ ।

घामले  छालामा पर्ने असरहरु:

  • छाला रातो हुनु, पोल्नु, डढ्नु
  • घमौरा आउनु
  • छालामा डाबर आउनु, चिलाउनु
  • घामको एलर्जी हुनु
  • काला दाग९धब्बा एवं चाया९पोतो आउनु
  • उमेर नपुग्दै छाला चाउरी पर्नु
  • छालाको क्यान्सर हुनु

घामबाट जोगिनैपर्ने व्यक्तिहरु

  • घामको किरणले एलर्जी हुने व्यक्ति (जसको छालामा घाम पर्ने बित्तिकै चिलाउन थाल्छ)
  • घामले असर गर्ने छाला ( लुपस जस्तै अन्य छालाको बाथ भएका व्यक्तिहरु)
  • छालामा कालो दाग-धब्बा, चाया-पोतो आदि समस्या भएका व्यक्तिहरु
  • सेतो दुवी (पाण्डु रोग / Vitiligo) भएका व्यक्तिहरु
  • घाममा बसेर काम गर्ने व्यक्तिहरु
  • आफ्नो छालाको स्याहारप्रति संबेदनशील व्यक्तिहरु (प्राकृतिक रुपमा हुने बुढ्यौलीलाई रोक्न त सकिंदैन, तर उचित तरिकाले नियमित रुपमा सनस्क्रिनको प्रयोग गर्नाले अस्वभाविक वा उमेर नपुग्दै देखिने बुढ्यौलीका चिन्हहरुलाई चाँहि केहि हदसम्म रोक्न र फर्काउन पनि सकिन्छ) ।

घामको असरबाट जोगिने उपायहरु

  • मध्यदिनको घाममा सकभर बाहिर ननिस्कनुहोस् ।
  • घाममा निस्किनै परे पुरा छाला ढाक्ने गरि लामो बाहुला भएको लुगा लगाउनुहोस् ।
  • सन ग्लासको प्रयोग गर्नुहोस् ।
  • घाममा जाँदा छाता ओढ्नुहोस् ।
  • फराकिलो घेरा भएको टोपी, छतरी वा ह्याट लगाउनुहोस् ।
  • सनस्क्रिनको प्रयोग गर्नुहोस् ।

सनस्क्रिन प्रयोग कसरी गर्नुपर्छ ?
घामबाट जोगिनुको अलावा हरेक दिन उचित तरिकाले सनस्क्रिनको प्रयोग गरेमा सूर्यका किरणहरुले छालामा गर्ने असरलाई रोक्न सकिन्छ । हामी धेरैले जानेर वा लहैलहैमा सनस्क्रिन लगाईरहेका छौं । तर उचित र प्रभावकारी तरिकाले यसको प्रयोग नहुँदा यसबाट जति फाईदा हुनुपर्ने हो, त्यति फाइदा पाउन सकेका छैनौं । बिशेषगरि युवती र महिला माझ यो लोकप्रिय देखिए पनि वालक, महिला र पुरूष सबैले यसको प्रयोग गरेर फाइदा लिन सकिन्छ ।

  • कम्तिमा पनि SPF-30 को (Water resistant) पानी प्रतिरोधक सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
  • पराबैजनी किरण ए (UV A) र पराबैजनी किरण बी (UV B) दुवैबाट बचाउने Braod Spectrum सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
  • चिल्लो छाला भएको व्यक्तिले Water based र सुख्खा छाला भएको व्यक्तिले Cream based सनस्क्रिन लगाउनु पर्छ ।
  • सूर्यको किरण छालामा पर्नु भन्दा १५-२० मिनेट अघि नै सनस्क्रिन लगाईसक्नुपर्छ । यो लगाउँदा नमाडीकन ‘दुधको तर’ जस्तै पत्र हुने गरि लगाउनुपर्छ ।
  • अनुहार र घाँटीको छालामा लगाउनको लागि करिब आधा चिया चम्चा सनस्क्रिन पर्याप्त हुन्छ ।
  • अनुहारबाहेक लुगाले नछोपेको सबै भाग जस्तै- ओठ, कान, घाँटी, गर्दन, पाखुरा, आदिमा पनि सनस्क्रिन लगाउनुपर्छ ।
  • घाम नलागेको दिन (जस्तै- बादल लागेको, पानी परेको दिन) मा पनि पराबैजनी किरण बादललाई पार गरेर पृथ्वीमा आउने भएकोले यस्तो बेलामा पनि सनस्क्रिन लगाउनुपर्छ ।
  • घाममा बसेर गर्नुपर्ने काम जस्तै- खेती/किसानी, पौडी खेल्नु, हाइकिंग/ट्रेकिङ गर्दै हुनुहुन्छ भने हरेक २/२ घन्टा फरकमा सनस्क्रिन लगाउनुपर्छ ।

सुर्यको प्राकृतिक प्रकाशबाहेक कृत्रिम प्रकाश जस्तै, एलईडी, मोबाइल, कम्प्युटर आदिबाट निस्किने प्रकाशले पनि हाम्रो छालालाई असर पुऱ्याउने हुनाले यी साधनहरु प्रयोग गर्दा पनि आफ्नो छालालाई जोगाउनु पर्छ ।

जहिले पनि यो कुरा याद गर्नुहोस्- कुनै पनि सनस्क्रिन हाम्रो छालालाई जोगाउन आफैमा पूर्ण रुपमा सक्षम हुँदैनन् । त्यसैले सनस्क्रिन सँगसँगै घामबाट जोगिने अन्य उपायहरु पनि अवलम्बन गर्नुपर्छ ।

(लेखक आरोग्य स्वास्थ्य सदन जाउलाखेलमा छाला तथा यौनरोग विशेषज्ञ हुनुहुन्छ ।)

फेसबुकबाट तपाईको प्रतिक्रिया