२०८२ भाद्र ६ | Aug 22, 2025

राजावादीले र गणतन्त्रवादीको प्रदर्शनस्थल छुट्टाछुट्टै : सुरक्षा व्यवस्थाका लागि ३५ सय प्रहरी परिचालन

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १५

काठमाडौँ । आज काठमाडौँको राजावादी र गणतन्त्रवादी दुवै पक्षको प्रदर्शन एकै साथ भइरहेको छ । गणतन्त्रावदीले मृकुटीमण्डबाट र्याली निकाल्दै छन् । यता राजावादीले भने तीनकुनेबाट आफ्नो शक्ति प्रदर्शन गर्ने भएका छन् । प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।

राजावादीहरुको प्रदर्शनीको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईं गर्ने छन् । उनको नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् भने उता नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले दुर्गा प्रसाईँसँगै मिलेर संयुक्त प्रदर्शन गर्न लागेको बुझिएको छ । सुवेदी नेतृत्वको समूहले आफ्नो छुट्टै प्रदर्शन स्थल सार्वजनिक नगरेको हुँदा प्रसाईँसँगै मिसिएर शक्ति प्रदर्शन गर्न लागेको पूर्वानुमान गरिएको छ ।

आजको शक्ति प्रदर्शनले सर्वसाधारणलाई पर्न जाने असरलाई मध्यनजर राख्दै सुरक्षा व्यवस्था कडा गरिएको छ । दुई पक्षधरको संयुक्त शक्ति प्रदर्शनको तयारीलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थालाई सहज बनाउन र सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले ३५ सय हाराहारीमा प्रहरी खटाउन लागेको छ । तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने प्रहरीको योजना छ । सुरक्षा कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गर्ने भएका छन् । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिनेछन् ।

उपत्यकाको सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ ।
शक्ति प्रदर्शन आजको एसईई परीक्षालाई मध्यनजर गर्दै परीक्षा ११ बजे सकिएपछि १२ बजेदेखि सुरु गर्ने तयारी छ ।
त्यसैगरी राजावादीहरुलाई चक्रपथभन्दा बाहिर मात्रै जुलुस निकाल्न दिने गरी प्रहरीले सुरक्षा रणनीति तयार गरेको छ । चाबहिलबाट तीनकुने र सातदोबाटो हुँदै तीनकुनेसम्म पूर्वराजका समर्थकलाई जुलुस निकाल्न दिने प्रहरीको रणनीति छ । भक्तपुरतर्फबाट आउने पूर्वराजा समर्थक तीनकुनेमा रोकिनेछन् ।

ट्राफिक व्यवस्थालाई सहज बनाउन भन्दै सुरक्षाकर्मीले भक्तपुरतिरबाट आउने समाजवादी मोर्चाका समर्थक सवार गाडीलाई भने कोटेश्वरबाट बालकुमारी तर्फ डाइभर्सन गरेर पठाउने भएको छ ।
यता समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ । आजको प्रदर्शनका लागि संघीय समाजवादी मोर्चाले १ हजार स्वयंसेवक परिचालन जानकारी गराएको छ ।

माओवादी केन्द्रका अनुसार प्रत्येक प्रदेश कमिटीहरुलाई १०–१० हजारको दरले समर्थक भेला पार्न भनिएको छ । त्यसैगरी जनवर्गीय संगठनहरुलाई पनि ३ देखि ५ हजार जनशक्ति उतार्न भनिएको छ । त्यसैले विरोध र्यालीमा लाखौको संख्यामा मानिस उर्तन अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया