
काठमाडौं । काठमाडौंमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक—फरक प्रदर्शन गरिरहेका छन् ।
काठमाडौंको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन थालिसकेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् । उनीहरु र्यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् ।
१२ बजेदेखि मात्रै प्रदर्शन सुरु गर्ने भनिए पनि ११ बजेदेखि नै र्याली निस्किएको देखिन्छ । गणतन्त्रवादीहरुले समाजवादी मोर्चाको आयोजनामा प्रदर्शनीमार्गमा र राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेकाहरुले तिनकुनेमा सभा गर्दै छन् । प्रदर्शनीमार्ग र तिनकुने दुवै क्षेत्रमा सभाका लागि मञ्च तयार भइसकेको छ ।
एकातिर भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्दै समाजवादी मोर्चाले प्रदर्शन गर्दैछ भने अर्कोतिर गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा राजावादीहरुले प्रदर्शन गर्दैछन् ।
पुरानो बानेश्वर, बबरमहल, कलंकी, बालाजु लगायतका क्षेत्रमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाका कार्यकर्ताहरु देखिन्छन् ।राजावादीहरुको जुलुस भक्तपुरतर्फबाट कोटेश्वर हुँदै तीनकुनेतर्फ आउँदैछ ।
आजको जुलुसलाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया