२०८२ फाल्गुन ६ | Feb 18, 2026

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिन्छ: घनश्याम भूसाल

BusinessPati बिजनेस पाटी
|
२०८१ असार २०
|
510 views

काठमाडौं २०असार २०८१-

नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भूसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीले विश्वासको मत दिने बताएका छन्।महाधिवेशनस्थल कमलादीमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा भूसालले प्रचण्ड नेतृत्वको सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता नहुने बताए।

‘दुइटा दलले भन्नेबित्तिकै आशावादी हुने स्थिति छैन, उहाँहरूले आजसम्म के बोल्नु भएको छ र के गर्नुभएको छ भन्ने कुराको लामो इतिहास छ,’ कांग्रेस र एमालेप्रति लक्षित गर्दै भूसालले भने, ‘त्यसले गर्दा हामी सतर्कतापूर्वक हेर्छौं। अहिले हामी यो सरकारबाट फिर्ता हुँदैनौं। प्रधानमन्त्री प्रचण्डलाई हाम्रो समर्थन जारी छ। प्रधानमन्त्रीले विश्वास मत लिन्छु भन्नुभएको छ, हामी विश्वास मत दिन्छौं।’

दाहाल नेतृत्वको संघीय सरकारमा एकीकृत समाजवादीका दुई जना मन्त्री छन्। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्।

नेकपा (एमाले) ले दाहाल नेतृत्वको सरकारलाई बुधबार समर्थन फिर्ता लिएको थियो। एमालेका ८ मन्त्रीहरूले बुधबार नै पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री दाहालले तत्काल पदबाट राजीनामा नदिने बरू संसद फेस गर्ने बताइरहेका छन्।

भूसालले सकेसम्म महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गरिने बताए।

‘महाधिवेशनबाट हामी निक्लदा एकताबद्ध, उत्साहित भएर कसरी निक्लन सक्छौँ भन्ने बारेमा हामीले छलफल गर्दैछौँ,’ भूसालले भने, ‘सबै प्रतिनिधिहरूको चासो, चिन्ता, सङ्कल्प, प्रयत्न त्यही नै हो, त्यसमा हामी निराश छैनौँ। अलिकति समय लागेको छ, तर परिणाम राम्रै आउँछ भन्ने मलाई लाग्छ।’

(न्युज एजेन्सी नेपाल)

फेसबुकबाट तपाईको प्रतिक्रिया