चार महिनामा २४२ उद्योग दर्ता, ४१ अर्ब बराबरको विदेशी लगानीको प्रस्ताव

BusinessPati बिजनेस पाटी
|
२०८१ मंसिर १०
|
969 views

ललितपुर - काठमाण्डौ १० मंसिर २०८१ 

चालु आर्थिक वर्षको चार महिनामा स्वदेशी र विदेशी गरी २४२ उद्योग दर्ता भएका छन् भने करिब ४१ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको प्रस्ताव आएको छ।

उद्योग विभागका महानिर्देशक राजेश्वरप्रसाद ज्ञवालीका अनुसार कार्तिक मसान्तसम्म ४० अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ। विभागले स्वदेशी र विदेशी गरी कुल २६३ लगानी प्रस्ताव स्वीकृत गरेको छ।

अनुमोदन प्रणालीबाट १५४ लगानी प्रस्ताव स्वीकृत भएका छन्, जसअन्तर्गत १७ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव स्वीकृत भएको छ। स्वचालित प्रणालीमार्फत १०९ लगानी प्रस्ताव स्वीकृत भएका छन्, जसबाट १ अर्ब ६२ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव स्वीकृत भएको छ।

सरकारले स्वदेशी तथा विदेशी लगानी भित्र्याउन विविध नीतिगत सुधार गर्दै उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने प्रयास गरिरहेको छ। यस अवधिमा उद्योग दर्ता र लगानी प्रस्तावको सकारात्मक तथ्यांकले लगानीकर्ताको रुचि बढेको देखाएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube