
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ति पोखरेलले राजसंस्था नफर्किएसम्म आफूहरूले सडक नछाड्ने बताएकी छिन् । राजसंस्था फर्काउन संघर्ष गरिरहेको राष्ट्रि प्रजातन्त्र पार्टीले आफ्नो आन्दोलन अझ सशक्त बनाउने भन्दै आगामी वैशाख ७ गतेबाट पार्टीले गर्ने आन्दोलनका क्रममा आफूहरू राजसंस्था नफर्किएसम्म सडकमै बस्ने, खाने र सुत्ने बताइन् ।
आजको सभा र र्यालीलाई सुरुवात मात्र हो भन्दै पोखरेलले बैशाख ७ गतेदेखि अझ सशक्त रुपमा आन्दोलन गर्ने बताइन् । उनले भनिन्, हामी सडकमै सुत्छौं, खाना पनि यहीँ पकाउँछौं, जबसम्म यो देशमा हाम्रो अभिभावकीय संस्था राजसंस्था फर्कदैन हामी यही बस्छौं ।
अब देशमा राजसंस्था फर्काउँछौं यहाँ भएका गणतन्त्रवादी नेताहरू आजदेखि देश छोडेर भाग्नुहोस्, उनले भनिन् ।
‘गणतन्त्रवादीहरु आजैका दिनबाट भागिहाल नत्र घरबाट थुतेर राष्ट्रवादी साथिहरूले तिमीहरुलाई छानी छानी कुट्नेछन्,’ पोखरेलले भनिन्, ‘कि देश छाडेर भाग, कि आत्मसमर्पण गर । नत्र खैरियत छैन ।’
उनले आगामी वैशाख ७ गतेबाट सडक तताउन बल्खुमा उपस्थित भिडलाई आग्रह गरिन् । सडक आन्दोलनबाटै राजसंस्था फर्काउँछौ भन्दै नेतृ पोखरेलले वैशाख ७ गतेबाट अझै शसक्त रुपले आन्दोलन गर्ने बताइन् ।
आज राष्ट्रिय प्रजातन्त्र पार्टीैले राजतन्त्र र हिन्दू राष्ट्रसहितका विभिन्न माग राखेर काठमाडौंको बल्खुमा जनप्रदर्शन गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया