२०८२ भाद्र ६ | Aug 22, 2025

आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ४

काठमाडौँ । आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले २०८२ साउन १ गतेबाट लागु हुने गरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ ।

ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा प्रकाशन भए पनि ऐनमा राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिबाट प्रारम्भ हुने उल्लेख थियो । तर, त्यसयताका सरकारहरूले कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन नगर्दा ऐन कानुनी रूपमा लागु हुन सकेको थिएन ।

वैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकबाट ऐन कार्यान्वयनमा आएको हो । ऐन जारी भएको २६ वर्ष आएर बल्ल कार्यान्वयनमा आउने भएको छ । अब भने मन्त्रालयलाई काम अगाडि बढाउन कानुनी रुपमा ढोका खुलेको छ ।

नेपालमा विगतमा बनेको मापदण्डका कारण बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन उपलब्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आएको मन्त्रालयले नै एक दशक अघि गरेको अनुसन्धानले देखाएको मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्र्तगतको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताए ।

सन् २०१६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सुक्ष्म पोषक तत्व विश्लेषण सर्वेक्षण गर्दा ६ देखि ९ वर्षका बाबालिकाकाको पिसाबमा ३०० माइक्रोग्राम प्रतिलिटर हुनुपर्नेमा तीन सय १४ भेटिएको थियो । जसका कारण उच्च रक्तचाप, थाइरोइडजस्ता समस्या देखिने गरेको चिकित्सक बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया