यसरी गरौं गर्मी मौसममा छालाको हेरचाह

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ६
|
2.2k views

डा. मधु ज्ञवाली

ललितपुर - नेपालमा गर्मी मौसम सुरु भएसँगै छालासम्बन्धी समस्या बढ्न थाल्छ। काठमाडौं लगायत अन्य सहरहरूमा प्रदूषण, धुलो, घामको कडा किरण र अत्यधिक पसिनाका कारण धेरैलाई एलर्जी, डन्डिफोर, सुक्खापना तथा कालो धब्बा जस्ता समस्या देखिन्छन्। ग्रामीण भेगमा पनि अत्यधिक गर्मीका कारण छालामा समस्याहरू देखिन सक्छन्। त्यसैले गर्मीमा छालाको उचित हेरचाह गर्न अत्यन्तै जरुरी छ। यहाँ हामी छालालाई स्वस्थ राख्ने केही उपयोगी सुझाव प्रस्तुत गर्दैछौं:

घामबाट जोगिनुहोस्

सँसारभरि नै वायुप्रदूषणको कारण ओजोन तह पातलिँदै गएको छ, जसले अल्ट्राभायोलेट (UVrays)किरणको प्रभाव बढाउँछ। यसवाट छाला डढ्नुका साथै, उमेरभन्दा चाँडै बुढो देखिने समस्या र छालाको क्यान्सरसम्मको जोखिम बढाउन सक्छ।

नेपालमा विशेष गरी चैतदेखि भदौ महिनासम्म अत्यधिक घाम लाग्ने गर्छ। विराटनगर, भैरहवा, नेपालगञ्ज जस्ता सहरहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि जान सक्छ। ग्रामीण भेगमा पनि तातो हावाले छालामा असर पार्छ। घामबाट जोगिनका लागि:

  • सकभर बिहान १० देखि दिउँसो ३ बजेसम्म वाहिर घाममा ननिस्किनुहोस्।
  • टोपी, छाता वा UV सुरक्षा दिने सनग्लास लगाउनुहोस्।
  • शरीरको खुला भाग कपडाले ढाक्ने प्रयास गर्नुहोस्।
  • बाहिर निस्कँदा SPF ३० वा सोभन्दा बढीको सनस्क्रिन प्रयोग गर्नुहोस्।

छालालाई सफा राख्नुहोस्

नेपालका सहरहरूमा धुलो तथा प्रदूषणको मात्रा अत्यधिक छ। धुलोका कणहरूले छालाको रोमछिद्र बन्द गरिदिन्छन्, जसले गर्दा डन्डिफोर, एलर्जीर कालो दाग देखिन सक्छ। त्यसैले:

  • दिनमा  दुईपटक माइल्ड फेसवासले अनुहार धुनुहोस्।
  • धेरै पसिना आएको खण्डमा सफा कपडाले पुछ्नुहोस्।
  • अनुहारमा फोहोर हात नलगाउनुहोस्।
  • प्रदूषण धेरै हुने ठाउँमा मास्क लगाउनुहोस्।
  • व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस।

छालालाई हाइड्रेटेड राख्नुहोस्

गर्मी मौसममा शरीरबाट पसिनाका रूपमा धेरै पानी बाहिर जान्छ। छाला सुख्खा, फुस्रो र निस्तेज देखिन सक्छ। त्यसैले:

  • दिनभरि कम्तीमा २-३ लिटर पानी पिउनुहोस्।
  • ताजा फलफूल, हरियो सागसब्जी र झोलिलो खाना खानुहोस्।
  • हल्का मोइस्चराइजर प्रयोग गर्नुहोस्।

सही स्किन केयर उत्पादन छान्नुहोस्

बजारमा धेरै प्रकारका स्किन केयर उत्पादनहरू पाइन्छन्, तर सबै उत्पादन सुरक्षित नहुन सक्छन्। धेरै उत्पादनमा हानिकारक रसायन हुन सक्छ, जसले छालालाई दीर्घकालीन असर पार्न सक्छ। त्यसैले:

  • छालालाई धेरै चिल्लो बनाउने क्रिम वा भारी मेकअप प्रयोग नगर्नुहोस्।
  • धेरै जनाले विभिन्न प्राकृतिक (एलोभेरा, कागती) उपायहरू रुचाउनुहुन्छ तर ती सोझै छालामा प्रयोग गर्दा नकारात्मक असर गर्न सक्छ।
  • अल्कोहल वा अन्य केमिकलयुक्त फेसवास प्रयोग नगर्नुहोस्।
  • तैलीय छालाका लागि तेल-रहित मोइस्चराइजर प्रयोग गर्नुहोस्।
  • सनस्क्रिनबिना बाहिर ननिस्कनुहोस्।

स्वस्थ जीवनशैली अपनाउनुहोस्

छालालाई स्वस्थ राख्न केवल बाहिरी हेरचाह मात्र होइन, भित्री स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।  असन्तुलित खानपान तथा अस्वस्थ जिवनयापनले छालामा प्रत्यक्ष असर पार्छ। स्वस्थ जीवनशैली अपनाउन:

  • दैनिक कम्तीमा ७-८ घण्टा राम्रो निदाउनुहोस्।
  • फास्ट फुड, कार्बोनेटेड ड्रिंक र चिल्लो, तारेको, भुटेको खानेकुरा कम गर्नुहोस्।
  • प्रशस्त मात्रामा सागसब्जी, फलफूलखानुहोस्।
  • आफ्नो शरिरको तौल नियन्त्रणमा राख्नुहोस।
  • योग तथा मेडिटेसनले छालाको चमक बढाउँछ।

नेपालभर गर्मी मौसमको असरलाई ध्यानमा राखी छालाको उचित हेरचाह गर्न आवश्यक छ। सही स्किन केयर, स्वस्थ आहार, र सन्तुलित जीवनशैलीले तपाईंको छालालाई ताजा, चम्किलो र स्वस्थ राख्न मद्दत गर्छ। यदि कुनै गम्भीर समस्या देखिएमा छाला विशेषज्ञसँग परामर्श लिनुहोस्।

(लेखक ज्ञवाली आरोग्य स्वास्थ्य सदन जाउलाखेलमा छाला -चर्म तथा यौन रोग विशेषज्ञ हुन् ।)

 पात्रो/राशिफल  रेडियो YouTube