२०८२ फाल्गुन ६ | Feb 18, 2026

नयाँ वर्ष नयाँ सोच युवाहरूको लागि छ प्रगतिको स्रोत भन्ने नाराका साथ भक्तपुरमा औद्योगिक महोत्सव सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ७
|
2.3k views

भक्तपुर । नयाँ वर्ष २०८२ तथा बिस्केट जात्राका अवसरमा भक्तपुरको सल्लाघारी चौरमा आयोजना गरेको नवौँ भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/८२ सम्पन्न भएको छ । महोत्वसमा एक लाख ७५ हजारले अवलोकन गरेको जानकारी औद्योगिक शान्ति नेपाल संस्थाले जानकारी गराएको हो ।

‘नयाँ वर्ष नयाँ सोच युवाहरूको लागि छ प्रगतिको स्रोत’ नाराका साथ औद्योगिक शान्ति नेपाल संस्थाले उपभोक्ताको हितमा ध्यान दिँदै गत चैत १८ गतेबाट सुरु गरेको ११ दिने औद्योगिक महोत्सवमा एक लाख ७५ हजारभन्दा बढीले अवलोकन गरेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीय हस्तकला प्रदर्शनीका साथै दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, भाँडाकुँडा, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको थियो ।

औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, अटोमोबाइल प्रदर्शनी, आधुनिक कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक्स एवं स्थानीय हस्तकला, कृषि उत्पादनलाई सामानको व्यापार तथा प्रदर्शनी एवं बिक्रीका लागि प्रदर्शनी कक्षहरू राखिएको थियो ।

महोत्सवका संयोजक दीपक थापाले महोत्सवमा साना बालबालिकाका लागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौनास्थलका साथै रोटे पिङ, रेनजर, मारुती सर्कस, स्थानीय खाना महोत्सवका साथै दैनिक राष्ट्रिय कलाकारको विशेष साङ्गीतिक प्रस्तुतिले दर्शकलाई आकर्षित गरेको बताए । राष्ट्रियस्तरका कलाकारको हास्यव्यङ्य तथा फेसन र्याप तथा नृत्य, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षणका रूपमा रहेको थियो ।

महोत्सवमा एक सय ५० कक्षमा राखिएका सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया