२०८२ भाद्र ६ | Aug 22, 2025

माओवादी सांसदद्वारा प्रधानमन्त्रीको आलोचना

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १६

काठमाडौं । माओवादीका केही सांसादहरुले प्रधानमन्त्रीको आलोचना गरेक छन् । उनीहरुले समस्या समाधान गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा समेत माग गरे ।

सांसदहरुले आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । महिनादिनदेखि शिक्षक, विद्यालय कर्मचारी र चिकित्सकहरु सडक आन्दोलन गरिरहँदा यो सरकार रमिते भएको आरोप लगाउँदै यस्तो सरकाररलाई पदमा रहिरहने नैतिकता नभएको भन्दै माओवादी सांसदले सरकारको राजीनामा माग गरेका हुन् ।

शिक्षक आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरुले शिक्षकहरु २८ दिनदेखि सडक आन्दोलनमा रहेका बेला सरकार रमिते बनिरहेको आरोप लगाए ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए ।

पाण्डेले शिक्षक र चिकित्सकका आन्दोलनका सम्बन्धमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग गरे ।

यसैगरी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरु सबै दलका भएको भन्दै उनीहरुका माग सम्बोधन गरी तुरुन्तै विद्यालयमा पठाउन माग गरे । उनले नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई जवाफ दिन पनि माग गरे । यसै सन्दर्भमा सांसद खतिवडाले राष्ट्र बैंकमा तत्काल गभर्नर नियुक्तिको माग गरे ।

यसैगरी माओवादी केन्द्रकी सांसद रेखा शर्माले विषयको गाम्भिर्यता हेरी शिक्षकहरुका माग सम्बोधन गर्न माग गरिन् । तर सरकारले परिस्थिति सम्हाल्नुको साटो झन् भड्काउने कामग गरेको बताउँदै उनले भनिन्, ‘समस्या समाधान गर्न छिटो भन्दा छिटो सरकार अग्रसर बनोस् रमिते नबनोस् ।’

माओवादीकै अर्का सांसद महेन्द्रबहादुर शाहीले भने प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागे । शिक्षक र चिकित्सक आन्दोलनमा रहेको र कर्मचारीहरु पनि आन्दोलनमा जाने तयारीमा रहेको भन्दै उनले सरकारले उनीहरुका कुरा नसुनेको भन्दै आलोचना गरे । त्यसैले पदमा रहीरहने नैतिकता प्रधानमन्त्रीले गुमाएको उनको भनाइ छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र अर्का सांसद ठाकुर गैरेले शिक्षकहरु सरकार र सरकारमा भएका नेताहरुबीच निरन्तर वार्ता भइरहेको भन्दै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

यस्तै रास्वपाका सांसद मनिष झाले सरकारले राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रलाई हतकडी लगाएर थुनामा राखेको भन्दै विरोध जनाए । उनले सुशासनको कुरा गर्ने सरकारले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण किन सार्वजनिक नगरेको भनेर पनि प्रश्न गरे ।

त्यसैगरी राप्रपाकी सांसद रोशन कार्कीले सरकारले आन्दोलनमा उठेका माग नसुनेको भन्दै आलोचना गरिन् । सहकारी पीडित महिलाहरुले सोमबार अर्धनग्न प्रदर्शन गरेको भन्दै उनले त्यसरी महिलाहरुलाई प्रदर्शन गर्न बाध्य नपार्न सरकारको ध्यानाकर्षण गराइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया