२०८२ फाल्गुन ६ | Feb 18, 2026

अवैध वित्तीय कारोवार गर्ने २१ जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १६
|
918 views

काठमाडौं । विदेशबाट अवैध रुपमा पठाएको रकम डिजिटल वालेटबाट विभिन्न बैंक खातामा जम्मा गराउने २१ जना पक्राउ परेका छन् । विभिन्न ११ जिल्लाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको हो ।

आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणमार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न नाममा अवैध कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरुले रु. १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । यस विषयमा थप जानकारी दिँदै ब्यूरोका प्रवक्ता सुधिरराज शाहीले उक्त समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेटका नाममा नेपालमा रहेका विभिन्न बैंक खातामा जम्मा गराउने गरेका पाइएको बताए ।

प्रवक्ता शाहीका अनुसार ब्यूरोले विरेन्द्रप्रसाद साह, दिपेन्द्रप्रसाद साह, श्रवणकुमार साह, तारालाल यादव, हरेराम महतो, निरोजकुमार महतो, अलितादेवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, प्रदीपकुमार साह, सञ्जिवकुमार महतो, राजकमल लोनिया, भीमकुमारी गुरुङ, रामविलास साह तेली, ममताकुमारी साह, विकर्णजङ्ग राणा, गणपति पाण्डे, सलमा खातुन, सुशिलाकुमारी साहू, गोविन्दप्रसाद आचार्य र सम्भु मेहतालाई पक्राउ गरेको छ।

अवैध कारोबार गरेको र नेपाल राष्ट्र बैंक ऐन विपरितको गतिविधि गरेको पाइएकाले उनीहरुमाथि थप कारबाही अगाडि बढाइने प्रवक्ता शाहीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया