२०८२ भाद्र ६ | Aug 22, 2025

आज अक्षय तृतीया : सातु र सर्वत सेवन गरी मनाइँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १७

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया पर्व हो । आजका दिन सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आजका दिन सातु र सर्वत दान गर्नाले अर्थात् सेवन गर्नाले गर्मीबाट बच्न अर्थात् शरीरलाई शितला प्रदान गर्ने विश्वास गरिन्छ ।

शास्त्र अनुसार “वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरेपनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ ।”

जौको सातु अर्थात् सक्खर राखेर बनाइएको सर्वत सेवनले गर्मीबाट शरीरलाई बचाउन सहयोग गर्ने र यसबाट शक्ति समेत प्राप्त हुने धार्मिक मान्यता छ ।

तराईका विभिन्न क्षेत्रमा अर्थात् विशेष गरी मिथिला क्षेत्रमा आजका दिन मनाइने अक्षय तृतीया पर्वमा सात र सर्वत वितरण गरे धार्मिक पुण्य कमाइने जनविश्वास छ । त्यसैले आज मिथिलाञ्चल क्षेत्रमा विहानै देखि बाटो हिंड्ने बटुवाहरुलाई सातु र सर्वत प्रदान गरिएको छ ।
गर्मीयाममा पसिना काढ्दै हिंडिरहेका बटुवालाई जौको सातु र सक्खर, मिश्री एवम् मरिच राखेर बनाइएको सर्वत दान गर्दा कहिल्यै नाश नहुने पुण्ड आर्जन हुने धार्मिक जनविश्वास छ । त्यसैले पनि तराईका विभिन्न बाटो, चौतारो तथा चोकमा माटोको घैंटोमा सर्वत र सातु निशुःक वितरण गर्ने गरिन्छ ।

सत्य युगमा अक्षय तृतियाकै दिन भगवान शिव र माता पार्वतीको विवाह सम्पन्न भएको मानिन्छ। त्यसैले यो दिनलाई हिन्दू धर्ममा अत्यन्त शुभ दिनको रूपमा लिइन्छ। त्यसैले आजका दिन कुनै पनि शुभ साइतका कार्यहरु गर्न साइत हेर्नु नपर्ने मान्यता छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया