२०८२ आश्विन १६ | Oct 02, 2025

श्रमिकले समाजको क्रान्तिकारी रूपान्तरणको नेतृत्व गर्नुपर्छ : पूर्व प्रधानमन्त्री खनाल

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १८
|
204 views

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले श्रमिक वर्गले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको नेतृत्वदायी शक्तिको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । पार्टीद्वारा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुकमा भएका विभिन्न राजनीतिक आन्दोलनमा श्रमिक वर्गको सहभागिता रहेकाले परिवर्तन सम्भव भएको बताउनुभयो । नेता खनालले देशमा समाजवादी क्रान्ति र रूपान्तरणका लागि श्रमिक वर्गले नेपाल कम्युनिष्ट पार्टीमार्फत पुँजीवादी–जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरिसकेको विचार व्यक्त गर्नुभयो ।

श्रमिकहरूले आफूमाथि भइरहेको शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध महत्त्वपूर्ण विजय प्राप्त गरेको दिन विश्वभरिका श्रमिक जनताको ऐतिहासिक दिवस भएको बताउँदै उहाँले समस्त श्रमजीवि जनताका मुक्तिका निम्ति पुँजीवादी शोषण र उत्पीडनको अन्त्य गरी जनताको आर्थिक अबस्था सुधार्न खाँचो औँल्याउनुभयो । नेता खनालले श्रमजीवि जनताले अहिले शिक्षा, स्वास्थ्य, रोजगारी, बीमा र सामाजिक सुरक्षा प्राप्त गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै वर्गीय रूपले सचेत र संगठित बन्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले युवा श्रमिकहरूप्रति दिन हजारौँको सङ्ख्यामा रोजगारीको खोजिमा विदेश जान बाध्य भइरहेको अहिलेको अवस्थामा मुलुकको कृषि, उद्योग, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया