
टक्सार (भोजपुर) भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले उचालेको छ । आज भएको सेमिफाइनल खेलमा गत वर्षको सातौँ संस्करणको विजेता चर्च ब्वाइज युनाइटेड ललितपुरलाई ४–० गोलले पराजित गर्दै एपिएफले गोल्डकपको उपाधि हात पारेको हो । एपिएफका लागि विशाल स्याङ्तान, समिराज थोकर, अनिश महर्जन र बिकी तामाङले एक–एक गोल गर्दै टोलीलाई विजयी बनाएका हुन् । चर्च ब्वाइजका तर्फबाट कुनै पनि गोल हुन सकेन । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ एपिएफका मानबहादुर राना भएका छन् । उत्कृष्ट गोलरक्षक एपिएफका सुजन विक, सर्वाधिक गोलकर्ता एपिएफका समिराज थोकर, सर्वोत्कृष्ट खेलाडी पदम भट्टराई र सर्वोत्कृष्ट कोच एपिएफका मिलन राई बनेका आयोजकले जनाएको छ ।
विजेता एपिएफ तथा उपविजेता चर्च ब्वाइज युनाइटेडले नगद रु पाँच लाख र तीन लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । यसैबीच, विजेता टोली तथा खेलाडीलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाशकुमार आले, जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीणकुमार सुवाललगायतले पुरस्कार वितरण गर्नुभयो । जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको रु ३० लाखको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक जिल्ला फुटबल सङ्घ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौँ र एलएक्स सिटी मोरङ गरी आठ टोलीको सहभागिता थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया