
काठमाडौ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । यसअघि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरेपछि समितिको पहिलो बैठक आजका लागि बोलाइएको थियो । अर्थमन्त्री विष्णु पौडेलको कार्यव्यस्तताको कारण देखाउँदै आजका लागि बैठक स्थगित भएको छ ।
सरकारले चैत १६ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा गर्भनर नियुक्त गर्न तीन सदस्यीय समिति गठन गरेको थियो। जसमा विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य थिए । तर वैशाख १० गते सदस्य भट्टराई बाहिरएपछि उक्त स्थानमा अधिकारीलाई सदस्य बनाइएको हो ।
यतिका समयसम्म पनि सरकारको सिफारिस समितिले नयाँ गर्भनरको नाम चयन गर्न नसक्दा गभर्नर नियुक्ति प्रक्रिया झन लम्बिँदै गएको छ । गत चैत २५ गतेदेखि नेपाल राष्ट्र बैंकले गर्भनर पाउन सकेको छैन । सत्ताका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गभर्नरमा डा. गुणाकर भट्टलाई बनाउने सहमति भएपछि उनले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा पनि दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।
राजनीतिक भागबण्डाका कारण करिव महिनादिनदेखि नेपाल राष्ट्र बैंक गभर्नर विहीन छ । राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले डा. गुणकर भट्टको राजीनामा स्वीकृत गर्न ढिलाई गरेपछि अर्थमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए ।
राष्ट्र बैंकको गभर्नरको दौडमा सम्भावित तीनजनाको नाम आए पनि डा. गुणाकर भट्टको सम्भावना भने बलियो देखिन्छ । सत्ता गठबन्धन भित्र भट्टकै नाम सहमति भइसकेका पनि गर्भनरमा उनको सम्भावना बलियो मान्न सकिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया