२०८२ भाद्र ६ | Aug 22, 2025

नागढुंगा–पिपलामोड सडक आजदेखि दैनिक चारघण्टा बन्द हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २२

काठमाडौं । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत पिपलामोड सडक आजदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । आजदेखि रातिदेखि १० दिनको लागि उक्त सडकखण्ड बन्द गरिन लागेको हो ।

वैशाख २२ गतेदेखि ३१ गतेसम्म उक्त सडकमा मर्मतको काम गरिने भएकोले दैनिक ४ घण्टाका दरले सवारी आवागमनमा रोक लगाइने भएको हो । राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

मर्मतको समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ भने नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिने भएको छ । रोकिएका सवारीसाधनलाई राति ३ बजेदेखि मात्र गन्तव्यमा जान दिइने छ ।

तर बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकलाई भने रोकिने छैन ।
उक्त समयमा अरु यातायातका साधनहरुलाई सहज होस भन्ने हिसाबले वैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।

वैकल्पिक मार्गहरू यस्ता छन्–
१. सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्ग
१. सितापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्ग

फेसबुकबाट तपाईको प्रतिक्रिया