२०८२ भाद्र ६ | Aug 22, 2025

बैङ्कहरूको कालोसूचीमा धितो मूल्याङ्कनकर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २२

काठमाडौं । बैंकहरुले धमाधम मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्याङ्कनकर्ताहरुमा चिन्ता पैदा भएको छ । धितोको मूल्य घट्दै जाँदा बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न थालेका हुन् ।

नेपाल मूल्याङ्कनकर्ता एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्याङ्कन र अहिले कारोबार कम हुँदा भएको मूल्याङ्कनको विषयलाई लिएर बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क राखेका छन् ।

भ्यालुअर्स एसोसिएसनका अध्यक्ष ई सञ्जयकुमार महतोले बैङ्कहरूले धमाधम नेपाल राष्ट्र बैङ्कको निर्देशिका देखाएर मुल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न थालेको बताए । कोभिड अगाडिको मूल्याङ्कन र कोभिड पछाडिको मूल्याङ्कनमा दुई तिहाइ नपुगे मूल्याङ्कनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको उनको भनाइ छ । “यसले गर्दा मूल्याङ्कनकर्ताहरूमा निराशा छाएको छ, यही अवस्था रहे मूल्याङ्कन गर्ने(नगर्ने भन्ने विषय अन्योल हुन्छ”, उनले भने ।

अहिले देशका हरेक ठाउँमा धितोको मूल्याङ्कन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उनले मूल्याङ्कनकर्ताहरूलाई बैङ्कहरूले कालोसूचीमा राख्न नहुने बताए । केन्द्रीय सल्लाहाकार ई लक्ष्मणबाबु सेढाईले आफूहरूले बैङ्क र बैङ्कका ग्राहक बीचमा समन्वयको काम गर्ने भएकाले कालोसूचीमा राख्नु गलत भएको बताए । “बैङ्कहरूले मूल्याङ्कनकर्ताहरूलाई कारबाही गर्नतर्फ लाग्दा समस्या आउने देखिएको छ”, उनले भने ।

अहिलेको समय धितोका रूपमा राखिने जग्गा र अन्य मेसिनरी सामानहरूको मूल्य घटेको भन्दै उनले यो अवस्थामा बैङ्कहरूले सोचेर काम गर्नुपर्नेमा जोड दिँदै यस्ता गतिविधिले इञ्जिनियरहरू धमाधम पलायन हुने अवस्था आउने बताए ।

त्यसैगरी एसोसिएसनका कोशी प्रदेश अध्यक्ष ई आमोदराज आचार्यले कालोसूचीमा राख्ने कानुनी मान्यता नरहेको भए पनि बैङ्कहरूले कारबाही गर्ने गरेको बताए ।

यस्तै, एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष सञ्जयचन्द्र न्यौपानेले बैङ्कका ऋणीहरूलाई सहजीकरण गर्ने मूल्याङ्कनकर्ताहरूलाई हतोत्साहित बनाउने काम बैङ्कहरूले गरेको उल्लेख गरे । बैङ्कहरूले दोस्रो पटक मूल्याङ्कन गर्ने र ऋणीहरूको धितो कम मूल्यमा लिलाम गर्ने गरेको उनको भनाइ छ ।

चितवन च्याप्टरका संस्थापक अध्यक्ष ई ईश्वरीप्रसाद कौडालले अहिले अस्वस्थ प्रतिस्पर्धाका कारण मूल्याङ्कनकर्ताहरूमा समस्या आउन थालेको बताए ।

त्यसैगरी नेपाल इञ्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रका अध्यक्ष कृष्ण रिजालले समय र परिस्थितिअनुसार धितोको मूल्य घटबढ हुने कुरालाई बैङ्कहरूले बुझ्नुपर्ने बताउँदै नेपाल भ्यालुयर्स एसोसिएसनमा अहिले चार हजारभन्दा बढी इञ्जिनियर आबद्ध रहेको समेत प्रष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया