
मोरङ । कोशी प्रदेश सरकारले यस वर्षको गणतन्त्र दिवस तीन दिनसम्म मनाउन निर्देशन दिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाइने गणतन्त्र दिवस–२०८२ भव्य रुपमा तीन दिनसम्म मनाउन निर्देशन दिएका हुन्् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आजको बैठकले आगामी जेठ १४, १५ र १६ गते छुट्टाछुट्टै कार्यक्रमका साथ भव्य रुपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको बताए । गणतन्त्र दिवसका अवसरमा उल्लेख्य नागरिकहरुको सहभागितामा प्राप्त गणतन्त्रका उपलब्धिबारे जानकारी गराइने समेत बताएका छन् ।
आजको बैठकमा मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिका सम्बन्धमा अन्तरक्रिया र कार्यक्रम आयोजना गर्न निर्देशन समेत दिएका छन्। गणतन्त्र दिवसलाई लक्षित गरी कोशी प्रदेश सरकारले विशेष रुपले यो दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।
जेठ १४ गते प्रदेशका मन्त्रीहरुको नेतृत्वमा मन्त्रालय, स्थानीय तहका प्रमुखको नेतृत्वमा पालिका, कार्यालय प्रमुखको नेतृत्वमा कार्यालय भवन, परिसर सार्वजनिकस्थल सरसफाइ गर्ने, सर्वसाधारण नागरिकहरुले आ–आफ्नो घरआँगन सरसफाइ गर्ने, लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि विषयक कार्यपत्र, अन्तरक्रिया, पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिता गरी पुरस्कार वितरण गर्ने, साँझ दीपावली गर्ने जनाएको छ ।
यसैगरी १५ गते मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, नेपाल, प्रदेश सरकार, स्थानीय कर्मचारीहरु ब्यान्डबाजासहित सुरक्षा निकायका कर्मचारीहरु, विभिन्न सङ्घसंस्थाले रोडशेष चोकमा भेला भई प्रभातफेरी गरी महेन्द्र चोकमा आयोजित समारोहमा सहभागी भइ साँझ घरमा दीपावली गर्ने कार्यसूची बनाएको छ ।
यस्तै जेठ १६ गते अस्पतालका बिरामीहरुलाई फलफूल वितरण, मानव सेवा आश्रमका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गर्ने र साँझ दीपावली गर्ने निर्णय कोशी प्रदेश सरकारले गरेको छ । जिल्ला समन्वय समितिका अध्यक्ष सबै जिल्लामा, स्थानीय तहका प्रमुखको अध्यक्षतामा सबै स्थानीय तहमा गणतन्त्र दिवस भव्य रुपमा मनाउन पत्राचार गर्ने निर्णय गरिएको बैठकबाट जानकारी गराएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया