२०८२ आश्विन १६ | Oct 02, 2025

सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धनका लागि ‘स्पार्क एडेभेञ्चर’

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २६
|
102 views

काठमाडौ । सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘स्पार्क कार’को आयोजनामा आजदेखि ‘तेस्रो स्पार्क एड्भेञ्चर’ सुरु भएको छ । काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० जनाभन्दा बढी सहभागी टोली आज सोलुखुम्बुका लागि प्रस्थान गरेको हो । वैशाख २८ गतेसम्म सोलुखुम्बुको पात्तले गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा स्पार्क एडेभेञ्चरअन्तर्गत विभिन्न कार्यक्रम हुने छन् ।

‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा महानायक राजेश हमाल, कलाकार तथा क्याप्टेन विजय लामा, गायक राजु लामा, गायिका आस्था राउत, सुनिता दुलाललगायतका कलाकार सहभागी छन् ।

दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको स्पार्क कारका निर्देशक सीताराम घिमिरेले बताए । काठमाडौँबाट सडकमार्ग हुँदै एकैदिनमा पुग्न सकिने गौरीटाप सगरमाथालगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो ।

समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले सम्भावना भएको गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ ।

 

स्पार्क एड्भेञ्चरको पहिलो दिन आज काठमाडौँबाट पात्तले गौरीटापसम्म विद्युतीय सवारीसाधनमा यात्रा गरिने छ । दोस्रो दिन सूर्योदय र हिमशृङ्खलाको दृश्यावलोकनपछि दिउँसो रुम्जाटार पुगिनेछ । सोही दिन साँझ स्थानीय संस्कृतिसहित राष्ट्रिय कलाकारको प्रस्तुतिमा साङ्गीतिक कार्यक्रममा सहभागी पाहुना र स्थानीय रमाउनेछन् । सो दिन सहभागीहरु स्थानीय परिकारको स्वाद र रहनसहनमा रमाउँदै ओखलढुङ्गाको रुम्जाटारको घरबास (होमस्टे)मा रात बिताउनेछन् ।
यसै ठाउँको नामबाट बनेको ‘घुमिफिरी रुम्जाटार’ उखान नेपाली जनजिब्रोमा प्रचलित छ । गुरुङ समुदायको बाहुल्यता रहेको रुम्जाटार कुनै समय भेडापालन र राडीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडी रुम्जाटार विमानस्थलबाट काठमाडौँसम्म पु¥याइन्थ्यो । तेस्रो दिन सहभागीहरु विद्युतीय सवारीसाधनमै काठमाडौँ फर्कने तालिका छ ।

प्रत्येक वर्ष प्रचुर पर्यटकीय सम्भावना भएका तर ओझेलमा परेका गन्तव्य तथा गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्पार्क एड्भेञ्चर आयोजना हुँदै आएको छ । स्पार्क कारले पहिलो वर्ष सन् २०२२ मा लमजुङको भुजुङमा भिरमौरीको मह सिकार अवलोकनलाई प्रवद्र्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सीमानामा रहेको शैलुङको पर्यटन प्रवद्र्धन गरेको थियो ।

साहसिक पर्यटनका क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले यात्रुहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित विभिन्न प्रकारका सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया