
ललितपुर। भारत र पाकिस्तानबीच चर्किँदै गएको द्वन्द्वको विषयमा केन्द्रित रहेर आज दुई देशबीच वार्ता हुँदैछ । दुई साताअघि जम्मू कश्मीरको पहलगाममा भएको विद्रोही आक्रमणपछि आक्रोशित हुँदै युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावबीच शनिबार पूर्णतहको युद्धविराम घोषणा गरेका थिए ।
दुई देशबीच आपसी वार्ताबाट विवाद टुंग्याउने उद्देश्यसहित युद्धविराम गरेका दुई मुलुकबीच पूर्व निर्धारित तालिका अनुसार सोमबार आज वार्ता हुन लागेको हो । भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार आज मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ताको समय तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने बताइएको छ ।
यी दुई देशबीच लामो समयदेखि जम्मू कश्मीर क्षेत्रको स्वामित्वलाई लिएर विवाद हुँदै आएको छ । यो पटक दोहोरो गोलाबारीमा उत्रिएका भारत र पाकिस्तानलाई मानवीय क्षति हुने युद्धमा नजान विभिन्न मुलुकले आग्रह गर्दै आएका छन् ।
यस अघि नेपालले पनि दुबै देशलाई युद्धमा नजान र युद्धविराम गर्न औपचारिक रुपमा पत्राचार गरिसकेको छ । सार्कको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले भारत–पाकिस्तान विवादका विषयमा वार्ता गरेरअघि बढ्न दुई देशलाई अपिल गरेको थियो भने अमेरिकाले दुई देशबीच तत्काल युद्धविरामसहित विवादको विषय वार्तामार्फत सुल्झाउन सुझाव दिँदै युद्धविरामका लागि पहल चालेको थियो ।
अमेरिकाले दुई देशबीच वार्ताका माध्यमले कुरा नटुंगिए आफु मध्यस्थता गर्न तयार रहेको भारत–पाकिस्तानसमक्ष प्रस्ताव राखेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया