२०८२ फाल्गुन ६ | Feb 18, 2026

आवासीय चिकित्सकसँगको माग सम्बोधन गर्न सुझाव दिन कार्यदल गठन

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २९
|
102 views

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयन प्रयोजनका लागि सुझाव दिन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीको संयोकजत्वमा एक कार्यदल गठन गरेका छन् ।
कार्यदलमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्रा.डा सुजनबाबु मरहट्टा , यसैगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य छन् ।

यसैगरी, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्रा.डा लोचन कार्की, काठमाडौं विश्वविद्यालयका डीन प्रा.डा मनोज हुमागाईं, निजी मेडिकल कलेजका तर्फबाट डा. सुमेश मिश्र सदस्य तथा मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य सचिव छन् ।

गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितीमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधा लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति भएको थियो ।

 

कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ । कार्यदललाई दुई साताभित्र प्रतिवेदन मन्त्रालयलाई दिन भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया