एनएमबि बैंकको अगुवाइमा ७ अर्बभन्दा बढीको दुई जलविद्युत आयोजना अगाडि बढ्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २९
|
357 views

ललितपुर - काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा दोलखा जिल्लास्थित ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजना तथा २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन प्रक्रिया सम्पन्न भएको छ। यी आयोजनाहरूमा कुल करिब ७ अर्ब ४३ करोडको लगानी हुने जानकारी गराइएको छ।

लाप्चे तामाकोशी जलविद्युत आयोजना दोलखा जिल्लाको विगु गाउँपालिकामा अवस्थित छ। उक्त आयोजनाको अनुमानित लागत करिब ७ अर्ब रूपैयाँ रहनेछ, जसमध्ये एनएमबि बैंक लिमिटेड, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक तथा अन्य वित्तीय संस्थाहरूबाट ५ अर्ब २५ करोड रूपैयाँ ऋण लगानी हुनेछ। यस आयोजनामा एनएमबि बैंक अगुवा बैंकको रूपमा रहनेछ।

      त्यस्तै, चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको लागत करिब ४३ करोड ४० लाख रूपैयाँ अनुमान गरिएको छ। यस आयोजनामा एनएमबि बैंकले एकल रूपमा ३४ करोड रूपैयाँको ऋण लगानी गर्नेछ।

      दुवै आयोजनाको ऋण सम्झौतामा एनएमबि बैंकका चिफ, सस्टेनेबल इनर्जी बैंकिङ्ग दिनेश दुलाल र डायनामिक हाइड्रो इनर्जीका अध्यक्ष मोहन बिक्रम कार्कीले हस्ताक्षर गरेका छन्। सम्झौता आदान–प्रदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले जलविद्युत आयोजनाको प्राविधिक, वातावरणीय तथा जोखिम मूल्याङ्कनमा बैंकले विशेष ध्यान दिने बताए।

      एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ। बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube