
ललितपुर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन् । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेको प्रश्नको आज जवाफ दिँदै उनले बजेट कार्यान्वयनमा देखिएको बाधा हटाएर सरकार अघि बढ्ने स्पष्ट पारे ।
अर्थमन्त्री पौडेलले विकासको ढाँचा, गति र संस्कृतिक परिवर्तन गर्नुपर्ने कुरालाई सिद्धान्त र प्राथमिकताले जोड दिएको बताए ।
नीति तथा कार्यक्रमसँग सिद्धान्त र प्राथमिकताको मेल खाएको र नीति कार्यक्रमलाई अनुसरण गर्दै सिद्धान्त र प्राथमिकता आएको उनको भनाइ छ । उपप्रधानमन्त्री पौडेलले सिद्धान्त र प्राथमिकताले सन्तुलित र समन्यायिक विकासलाई जोड दिएको, रोजगारी, स्वरोजगारी र गरिबी निवारणलाई महत्व दिएको बताए । यस अघि राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै सांसद सोनाम गेल्जेन शेर्पाले वित्तीय अनुशासन कायम गरी उच्च प्रतिफल दिने योजना अघि बढाउनुपर्नेमा जोड दिए । उनले कानुनी र नीतिगत सुधार गरेर लगानी मैत्री वातावरण बनाउन सुझाव दिए ।
सांसद आनन्दप्रसाद ढुङ्गानाले मौलिक हकको कार्यान्वयन गरी जनतामा आशा जगाउने योजना ल्याउन आग्रह गरे । सांसद जयन्तीदेवी राईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबीच तालमेल नदेखिएको जनाउँदै यसले जनअपेक्षा पूरा गर्न नसक्ने धारणा राखिन् ।
सांसद पूजा चौधरीले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने योजना ल्याउन सुझाव दिँदै चुरे संरक्षणमा ध्यान दिन आग्रह गरिन् । सांसद मनरुपा शर्माले आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाउन नसकेको बताइन् ।
सांसद जितजङ्ग बस्नेतले संरचनात्मक सुधारमा जोड दिँदै मौलिक हक र राज्यका निर्देशक सिद्धान्त कार्यान्वयनको योजना ल्याउन सुझाव दिए । सांसद उदयबहादुर बोहराले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका विषयलाई बजेटमा समावेश गर्नुपर्ने बताए । सांसद कृष्णप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा थुप्रै सकारात्मक विषय रहेको जनाउँदै सोहीअनुसारको बजेट निर्माण गर्न सुझाव दिए ।
सांसद घनश्याम रिजालले नीति तथा कार्यक्रममाथिको छलफलबाट प्राप्त सुझाव विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नसमेटिएको उल्लेख गर्दै यसले जनअपेक्षा पूरा गर्न नसक्ने बताए । सांसद युवराज शर्माले प्रस्तुत सिद्धान्त र प्राथमिकताले स्पष्ट गन्तव्य किटान गरेको जनाउँदै छलफलका क्रममा उठेका विषयलाई बजेटमा समावेश गर्न सुझाव दिए । सांसद दुर्गा गुरुङले समावेशी विकास र सामाजिक न्याय कायम गर्दै विकासको लाभमा आम नागरिकको पहुँच स्थापित गर्ने लक्ष्य विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले लिएको बताए । सांसद विष्णुदेवी पुडासैनीले सिद्धान्त र प्राथमिकतामा समेटिएका विषय कार्यान्वयन गर्न राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच कार्यसम्पादन सम्झौता हुनुपर्ने बताए । सांसद उर्मिला अर्यालले विकासको लाभलाई समावेशी र सामाजिक न्यायमा प्रत्याभूत गर्ने, स्वाधिन राष्ट्रिय अर्थतन्त्रमा सबैको सहभागिताको उपेक्षा गरिएको सिद्धान्त र प्राथमिकता दिशाहीन भएको बताए । सांसद इन्दिरादेवी गौतमले प्रस्तुत आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकलाई समृद्धितर्फ डोहो¥याउने विश्वास व्यक्त गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया