२०८२ भाद्र ७ | Aug 23, 2025

सम्पदा संरक्षणमा संस्कृतिमन्त्रीको जोड 

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ४

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा रहेका भौतिक एवं अभौतिक सम्पदाले अन्तरराष्ट्रिय रुपमा चर्चा पाउने भएकाले व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा आज राष्ट्रिय सङ्ग्रहालय छाउनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थापन चुस्तदुरुस्त बनाउनसके विश्वभरका इतिहास एवं संस्कृतिप्रेमीलाई नेपालमा आमन्त्रण गर्न सकिने बताए । नयाँ पुस्ताले विगतलाई नियाल्न सङ्ग्रहालय महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी पुस्ताले अवलोकन गर्नसक्ने गरी सङ्ग्रहालयलाई संरक्षण गरिनुपर्नेमा जोड दिए ।
एआइका साथै ‘भर्चुअल रियालिटी’लगायत नयाँ प्रविधिलाई पनि धर्म, संस्कृतिका क्षेत्रमा जोडेर लैजानुपर्नेमा मन्त्री पाण्डेको जोड थियो । सङ्ग्रहालयमा रहेका चिजबिजका बारेमा कहिले, कसले, केके बनायोजस्ता जानकारीसहितको विषय लेखेर कथा वाचन शैलीमा प्रस्तुत गर्नसकेमा अवलोकनकर्ता बढेर सङ्ग्रहालयको पनि प्रचारप्रसार हुने भएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा उहाँले सम्बद्ध अधिकारीहरुको ध्यानाकर्षण गराए ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुराना र नयाँबीच पुल बन्ने किसिमका संरचना बनाएर सङ्ग्रहालयलाई व्यवस्थित गरिने प्रतिबद्धता जनाए । अर्को वर्षदेखि अन्तरराष्ट्रिय सङ्ग्रहालय समितिको कार्यक्रममा पनि नेपालमा हुने सङ्ग्रहालय दिवससम्बन्धी कार्यक्रम राखेर यसको विश्वव्यापीकरण गरिने जानकारी पनि उनले गराए । विभागअन्तर्गत आठ वटा सङ्ग्रहालय रहेको जानकारी पनि महानिर्देशक प्रधानाङ्गले गराए ।
मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा सुरेशसुरश श्रेष्ठले १५८ देशका ३७ हजार सङ्ग्रहालयमा आज यो दिवस मनाइरहेको जानकारी गराउँदै सबै देशमा सङ्ग्रहालय र समुदायको अवस्था उस्तै रहेको बताउ ।। नेपालमा सङ्ग्रहालय स्थापनाको १०० वर्ष पूरा हुन लाग्दा पनि भर्खर सुरु भएकै जस्तो अवस्थामा रहेको उहाँले सुनाउ ।
दिगो विकास लक्ष्यले पनि सम्पदा संरक्षणका विषयलाई महत्व दिएको उल्लेख गर्दै उनले युवापुस्ता संस्कृतिबाट विमुख हुँदै जान थालेकाले आकर्षित गर्नुपर्ने चुनौती रहेको  पनि बताउ । प्रत्येक वर्ष १८ मे का दिन अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस मनाइन्छ । दिवसको यस वर्षको नारा ‘तीव्र गतिमा परिवर्तनशील समुदायहरुमा सङ्ग्रहालयको भविष्य’ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया