२०८२ भाद्र ७ | Aug 23, 2025

अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रेकोप्रति डा. महेशमान श्रेष्ठको चिन्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ६

ललितपुर । नागरिक अगुवा डा. महेशमान श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रेकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेवाः मिसा ग्वहालि पुचः र नेवाः ग्वहालि पुचः काठमाडौं महानगर वडा नं २६ ले गरेको क्षमता विकास प्रशिक्षण कार्यक्रममा उहाँले देशप्रतिको चिन्ता व्यक्त गरेका हुन् ।

राजनीतिक दलभित्रका विकृत नेता र सोही आचारण भएका कर्मचारीले भ्रष्टाचारमार्फत कुशासन गरेर देश बिगारेको डा. श्रेष्ठको आरोप छ । कार्यक्रममा उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायतका दलले गलत प्रवृत्तिका नेता कार्यकर्तालाई संरक्षण दिएकोप्रति आक्रोस पोखे। ‘अब देशलाई माया गर्ने देशभक्तहरुको संयुक्त मोर्चा बनाउनु पर्छ । सो मोर्चालाई भाषण कलासँगै अन्य विविध पक्षको प्रशिक्षण दिएर सहि शासन प्रणाली लागू गराउनेतर्फ अग्रसर बनाउनुपर्छ ।’ डा. श्रेष्ठको भनाइ छ ।

हुन पनि बिबिसी, सीएनएन, अलजजिरा, फोक्स न्यूजहरुमा पछिल्लो समय नेपालमा व्याप्त रहेको भ्रष्टाचार सम्बन्धिको समाचार प्रशारण भएका छन् । यसले गर्दा नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा बिग्रेको छ ।

डा. श्रेष्ठले भ्रष्ट नेताहरुको ठाउँमा इमान्दार, सक्षम र देशलाई सच्चा माया गर्ने नेताहरुको आवश्यकता रहेको बताएका छन् । उनले पछिल्लो समय नयाँ पुस्ताको मातृभाषाप्रतिको विकर्षणप्रति चिन्ता व्यक्त गर्दै नेपालभाषा क्लब, आदिवासी नेवाः राजनीतिक अभियान, नेवाः ग्वहालि पुचः र नेवाः मिसा ग्वहालि पुचःले भाषा संरक्षणमा दिंदै आएको योगदानको चर्चा गरे।

सामाखुसीस्थित प्रज्ञा स्कूलको हलमा सुरु भएको पाक्षिक प्रशिक्षण कार्यक्रममा उद्घोषण, औपचारिक कार्यक्रममा सिलसिला मिलाएर बोल्ने शैली, संस्था सञ्चालनको तरिका सम्बन्धिको तालिम दिइनेछ । ग्वहालि पुचःले यसअघि कीर्तिपुर, तारकेश्वर नगरपालिकाको मनमैजु, फुटुङ, धर्मस्थली, भक्तपुरको थिमि, टोखा, काठमाडौंका विभिन्न टोलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महानगरपालिकाभित्रका विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, शिक्षासेवी, गृहिणी लगायत सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया