
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ आज पनि नहुने भएको छ ।
मंगलबार न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हेर्दाहेर्दैमा राखिएको उक्त रिटमाथि यही इजलासले आज पनि सुनुवाइ गर्ने भनिएको थियो । तर बुधबार पनि संवैधानिक इजलासमा बस्ने एकजना न्यायाधिशको अनुपस्थितिको कारण देखाइ रविको रिटमाथि सुनुवाइ नहुने भएको हो ।
यसैबीच सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलका अनुसार संवैधानिक इजलासमा बस्ने न्यायाधीस मनोजकुमार शर्मा बुधबार अदालतमा उपस्थित छैनन्। उननको सट्टामा न्यायाधीश नहकुल सुवेदी बस्नुपर्ने भएकाले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रभावित भएको प्रवक्ता कुईकेलले बताए। ‘न्यायाधीश नहकुल श्रीमान संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले रविको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ नभएको हो,’ उनले भने।
हिजो रास्वपा सभापति रवि पक्षबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, सुरेन्द्र थापा, मेघराज पोखरेल, अधिवक्ताहरू नारायणदत्त कँडेल, जितेन्द्र झा, राजेन्द्र सेढाइँ, सुदिक्य पन्त लगायतले बहस गरेका थिए। वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गरेका थिए। अर्को इजलासमा लामिछानेको बहस सक्ने उनको तयारी छ । र लामिछानेको वकिलहरूले बहस गरेपछि पूर्वडिआइजी छविलाल जोशीका वकिलहरूले पनि बहस गर्नेछन्।
लामिछानेको मुद्दा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको थियो। मंगलबार भने सुवेदी र ढकालको इजलासमा सुनुवाइ भएको हो। सुरूमा वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो। तर उक्त इजलासले हेर्न मिलेको थिएन। वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। वैशाख २८ गते न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल, वैशाख ३० गते हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठ र वैशाख ३१ गते नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा हेर्न नमिल्नेमा परेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया