
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइने जवाफ दिएका छन् ।
केही दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा फर्काउँने दाबी गर्दै प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिन बताएका थिए , त्यसको जवाफ फर्काउदै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरे ।
राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजालाई घरमै सिंहासन बनाएर राख्न पनि सुझाव दिए । जनताको हक, अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्र भागमा एमाले पार्टी रहेको उनले बताए । प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएकाले स्थिरता र सुशासनका लागि एमाले र काँग्रेसको सरकार बनेको बताउँदै सरकार ढल्यो भनेर कराइरहेकाहरूलाई अबको १४ महिनापछि आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन गराउने पनि बताए ।
यता राजसंस्था पुर्नस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको स्वतन्त्र र सुक्ष्म ढंगले पर्यवेक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
शुक्रवार आयोगको कार्यालय ललितपुर पुगी संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपालका शीर्ष नेताहरुले मानवअधिकार आयोगको ध्यानाकर्षण गराएका हुन । आन्दोलनमा सरकारले धरपकड गर्न सक्ने भन्दै राजावादी समूहले राष्ट्रिय मानव अधिकार आयोगसँग प्रभावकारी अनुगमनको माग गरेका हुन् । आन्दोलन अघि राष्ट्रवादी नेताहरूमाथि गैरकानुनी गिरफ्तारी हुन सक्ने शंका समेत निवेदनमा व्यक्त गरिएको छ । समितिले आन्दोलनलाई शान्तिपूर्ण र संविधानसम्मत भन्दै यसको स्वच्छ अभ्यास सुनिश्चित गर्न आयोगलाई आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया