२०८२ फाल्गुन ६ | Feb 18, 2026

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १०
|
255 views

ललितपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहेको बताएका छन् । अठारौँ गणतन्त्र दिवसका सन्दर्भमा मोरङको गणेशमानसिंह फाउण्डेशन, नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ विराटनगरले धनपालथान गाउँपालिका–३ सोराभागमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गरी आम नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए ।

उनले अन्तरराष्ट्रिय अभ्यासअनुसार नागरिकको लगानीमा बिमामार्फत नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने स्थिति बनाउनुपर्छ भन्नुभयो । स्वास्थ्य मन्त्रालयले आगामी बजेटमा सम्पूर्ण सङ्गठित क्षेत्रलाई बिमामा जोड्ने प्रस्ताव गरेको जानकारी दिए । वैदेशिक रोजगारीमा गएकाले श्रम गर्ने देशबाट नै सम्पूर्ण स्वास्थ्य उपचार पाउनुपर्ने, स्वास्थ्य कर र राज्यले दिएका सुविधा बिमामा जोडनु पर्ने प्रस्ताव पेस गरेको बताए । प्रदेशसभा सदस्यत्रय अमृत अर्याल, डोल्मा तामाङ र गयानन्द मण्डलले धनपालथान गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पतालका लागि सहयोग गर्न आग्रह गरे ।

फाउण्डेशनका अध्यक्ष फलकुमार लालवानी, धनपालथान पालिकाका अध्यक्ष जीवछ गच्छदार र शिव प्रधानले मोरङको दुर्गम क्षेत्रका जनताको सेवामा भविष्यमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । आजै समापन हुने शिविरमा न्यूरो कार्डियो मल्टिस्पेशियलिटी हस्पिटलका चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीले क्षयरोग, न्यूरो, हाडजोर्नी, ग्यास्ट्रोलोजी, स्त्री रोग, आँखा, चर्म, श्वासप्रश्वास, सेवा, रगत परीक्षण सेवा प्रदान गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया