२०८२ भाद्र ७ | Aug 23, 2025

घर कर्जा विस्तारमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ११

ललितपुर । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदर निकै सस्तो भयो । तर पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर बनाउनेहरू खासै बढेका देखिएनन् । विगत यो समयसम्म बैंकबाट घर कर्जा लिएर घर बनाउनेहरु बढ्ने गरे पनि चालु आवको चैत्र मसान्तसम्म पनि खासै बढेको देखिएन ।

चालु आवको चैत्रमा गत वर्षको सोही अवधिको तुलनामा साढे ४ प्रतिशतले मात्रै घर कर्जा बढेको तथ्यांक छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुले चालु आवको चैत्र मसान्तसम्म ३ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ मात्रै घर कर्जा प्रवाह गरेका छन् जुन गत वर्षको तुलनामा ४ दशमलब ५९ प्रतिशतले मात्रै बढी हो।

गत वर्षको चैत्र मसान्तसम्म २० वटा वाणिज्य बैकहरुले ३ खर्ब १० अर्ब ३३ करोड रुपैयाँ घर कर्जा प्रवाह गरेका थिए। अहिले वाणिज्य बैंकहरुले एकल अंकको ब्याज दरमै घर कर्जा दिन थाले पछि घर कर्जाको माग केही बढ्न थालेको प्रभु बैंक टेकु शाखाका एक अधिकारीले मेरो लगानीलाई भने। कर्जा प्रवाहमा सुस्तता छाएपछि नेपाल राष्ट्र बैंकले २०८० साल साउन १२ गते एक सर्कुलरमार्फत बैंकहरुलाई व्यक्तिगत घर कर्जाको सीमालाई डेढ करोड रुपैयाँबाट २ करोड रुपैयाँ बनाउन निर्देशन दिएका थिए।

अहिले आएर बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउँदै गएका छन् । कर्जा विस्तार सुस्ताए पनि बैंकहरुले यतिबेला मार्जिन कर्जा र घर कर्जामा विभिन्न अफरहरु ल्याइरहेका छन्। मार्जिन कर्जा बढ्दो क्रममा रहे पनि घर कर्जा खासै बढ्न नसकेको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्षमा अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंकबाट ऋण लिने संख्यामा कमी आएको छ । जसका कारण घर कर्जा नबढेको विश्लेषण गर्ने गरिएको छ। युवा विदेश पलायनको बढ्दो लहरले पनि घर निर्माणका कार्य हुन छाडेका छन् । भएको घर समेत बहालमा दिएर सपरिवार विदेशमा रहेका छोरा छोरीकोमा बस्ने प्रवृत्ति बढ्दै गएकाले अहिले ऋण लिने घर किन्ने एकदमै कम छन्। नेपालको अर्थतन्त्रमा सुस्तताउँदा यतिबेला व्यापारिक र औद्योगिक भवन बन्ने क्रम पनि सुस्त छ।

यता वाणिज्य बैंकहरुको घर कर्जाको तथ्यांक हेर्दा २० वटामध्ये १४ वटा बैंकले घर कर्जा बढाएका छन् भने ६ वटा बैंकको घर कर्जा गत वर्षको चैत्र मसान्तको तुलनामा घटेको छ। २०८० चैत्र मसान्तसम्म वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै घर कर्जा एनआईसी एसिया बैंकको गएको देखिएको छ। बैंकले ४९ अर्ब ६६ करोड रुपैयाँ बराबरको घर कर्जा दिएको तथ्यांक छ। यो गत वर्षको चैत्र मसान्तको तुलनामा १९ दशमलब ६६ प्रतिशतले कम हो। गत वर्षको चैत्र मसान्तमा एनआइसी एसियाले ६१ अर्ब ८१ करोड रुपैयाँ बराबरको घर कर्जा दिएको थियो। वाणिज्य बैंकमध्ये सबैभन्दा कम घर कर्जा भने नेपाल एसबीआई बैंकले २ अर्ब ३९ अर्ब रुपैयाँको घर कर्जा दिएको छ।

गत वर्षको तुलनामा घर कर्जा विस्तारमा आक्रामक रुपमा आएका बैंकहरुमा ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन्। यी पाँच बैंकले गत वर्षको तुलनामा २० प्रतिशत भन्दा बढीले घर कर्जा विस्तार गरेका छन्। नेपाल बैंक, एनएमबी बैंक, नबिल बैंक र सिटिजन्स बैंकले १० देखि २० प्रतिशतसम्म घर कर्जा विस्तार गरेको तथ्यांक छ। प्राइम, कुमारी, नेपाल एसबीआई बैंकले ५ देखि ६ प्रतिशतसम्म कर्जा विस्तार गरेका छन् भने माछापुच्छे, एभरेष्ट बैंकको घर कर्जा विस्तार १ प्रतिशत भन्दा कम छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया