२०८२ आश्विन १६ | Oct 02, 2025

सुनका गरगहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २३
|
561 views

ललितपुर । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिनु पर्ने धारणा नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले राखेका छन् ।

विहीबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै एकीकृत समाजवादीका सांसद रिजालले यो २ प्रतिशतको विलासिता कर फिर्ता लिनुपर्ने बताएका छन् । विश्वबजारमा हाल त्यसैपनि उच्च मूल्य रहेको सुनमा पुन २ प्रतिशत कर लगाएर व्यवसाय नै संकटमा पर्ने चिन्ता व्यक्त गरेका थिए । सुनको मूल्य वृद्धिसँगै आर्थिक मन्दीका कारण सुस्ताएको सुन व्यवसायलाई सरकारको यस्तो किसिमको कर नीतिले झनै संकट थपिने बताएका हुन् । रिजालले नेपालको तुलनामा भारतमा सुन र हिराका गहना किन्दा ५.७ प्रतिशत सस्ता हुने हुँदा सरकारको यस किसिमको कर नीतिले अवैध कारोबार बढ्ने खतरा रहेको समेत बताए ।

न्यून आय भएका नेपाली जनतालाई अब गरगहना खरिद गर्दा अर्थात् आफ्नो गर्जो टार्नका लागि बेचौं भन्दा दुईतिरबाट मार्का पर्ने उनको धारणा थियो । उनले भने, ‘उच्च मुल्य वृद्धि र आर्थिक मन्दीका कारण सुस्ताएको सुन व्यवसाय आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्यमार्फत लागु २ प्रतिशत बिलासिता करका कारण थप संकटमा पर्ने देखिन्छ । सरकारको यस किसिमको निर्णयले नेपालको धर्म संस्कृति र पर्यटनमा समेत यसले ठुलो असर पार्ने देखिन्छ । त्यसकारण सुनका गहनामा लगाइएको बिलासिता कर फिर्ता लिन, सुन व्यवसायीले माग गर्दै आएको व्यापार निर्देशिका तत्काल जारी गर्न, राष्ट्र बैंकको कार्यविधि अनुसार व्यवसायीलाई सानो परिणामको सुन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदछु ।’

सांसद रिजालले सरकारले सुन व्यवसायीले माग गर्दै आएको व्यापार निर्देशिका तत्काल जारी गर्न र राष्ट्र बैंकको कार्यविधिअनुसार व्यवसायीलाई सानो परिणामको सुन उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया