
ललितपुर । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।
उक्त कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। जसअनुसार कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
यसअघि कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ यही जेठ २ गते बुकक्लोज गरेको थियो। इच्छुक लगानीकर्ताले कम्पनीको हकप्रद शेयरमा जेठ २३ गतेदेखि असार १२ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बेसीशहर, सुन्दरबजार –६ मिलनचोक, भोर्लेटार–८ बसपार्क, सिउँडीबार सुन्दरबजार–९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बंैक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत् तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया