
ललितपुर। पछिल्लो समय काठमाडौं आन्दोलनमय भएको छ । कहिले राजनीतिक आन्दोलन त कहिले शैक्षिक आन्दोलन । राजनीतिकर्मीदेखि लिएर स्वास्थ्यकर्मीहरुको समेत आन्दोलन खेप्तै आएको काठमाडौंले अब फेरि निजामती कर्मचारीहरुको आन्दोलन खेप्न तयार हुनुपर्ने बेला आएको छ । निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आजदेखि अनिश्चितकालीन आन्दोलन थालेका छन् ।
आन्दोलन संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरुले आजदेखि अनिश्चितकालीन अनिश्चितकालीन रुपमा गर्न थालेका छन् । निर्देशक समितिमा नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् ।
गत जेठ २० गते बसेको निर्देशक समितिको बैठकले संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलनका कार्यक्रम तय गरेको थियो । अम्बादत्त भट्टको अध्यक्षतामा बसेको सो बैठकले जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि देशैभरका सबै राष्ट्रसेवक कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आजदेखि देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेको नेपाल निजामती कर्मचारी संगठनका महासचिव आरसी अधिकारीले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया