२०८२ भाद्र ६ | Aug 22, 2025

प्रतिगमनविरुद्ध खरो रुपमा उत्रन वाईसीएललाई प्रचण्डको निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २६

ललितपुर। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्देशन अनुसार प्रतिगमन र प्रतिक्रियावादीहरुका बिरुद्धमा खरो रुपमा उभिन वाईसीएललाई निर्देशन दिएका छन् ।

उनले वाईसीएललाई आफ्नो पार्टीको जनरल स्टाफकै भूमिका निभाउन आग्रह गर्दै गरेका छन् । बिहान खुमलटारमा वाईसीएलको नवनिर्वाचित पदाधिकारी टिमलाई स्वागत गर्ने क्रममा अध्यक्ष प्रचण्डले हाल प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सशक्त रुपमा उत्रनुपर्ने बताएका हुन्।

उनले भने, “प्रतिक्रियावादी प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन्। जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने प्रयास भइरहेका छन्। अब तपाईंहरूको टिम जनरल स्टाफ जस्तै हो। तपाईंहरूले पार्टी नेतृत्व र आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो सावित गर्नुहुनेमा म विश्वास लिएको छु।”

वाईसीएलका पदाधिकारी विस्तार गरिएको प्रसंग जोड्दै अध्यक्ष दाहालले आगामी दिनमा यस संगठनलाई गतिशील, चुस्त र दुरुस्त बनाउनु पर्नेमा जोड दिए । विधान पारित गरेर भोलिपल्टै संशोधन गरिएकोप्रति आफूलाई आलोचना गरिएको बताउँदै उनले भने, ुहुन त विधान आज एउटा पारित गर्ने, भोलिपल्ट संशोधन गर्ने के गरेको होला भनेर मलाई पनि सुनाएका थिए। तर तपाईंहरूले सहमतिमै सबै काम गर्नुभयो, त्यसैले चिन्ता लिनुपर्ने अवस्था छैन”।

फेसबुकबाट तपाईको प्रतिक्रिया