२०८२ भाद्र ७ | Aug 23, 2025

पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन जरुरी : अध्यक्ष शर्मा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २६

कैलाली । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारितालाई थप व्यवसायिक र मर्यादित बनाउन जरुरी भएको बताएकी छन् ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले सोमबार धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय संवाद एवं ‘फ्रि मिडिया नेटवर्क गठन’ कार्यक्रममा उनले लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुने भन्दै आमनागरिकलाई सु–सूचित गर्ने काममा पत्रकारको महत्वपूर्ण भूमिका रहने भएकाले पत्रकारितालाई अझ व्यावसायिक र मर्यादित बनाउन अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरेकी छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले पछिल्लो समय पत्रकारिता पेसामा विभिन्न चुनौती देखापरेकोले पत्रकार स्वयंले आफ्नो सुरक्षाको लागि विशेष ध्यान दिन आवश्यक रहेको धारणा राखिन् । उनले प्रदेशस्तरमा गठन भएको फ्रि मिडिया नेटवर्कले आमनागरिकको स्वतन्त्रता, प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितता प्रदान गर्न मद्दत मिल्ने बताइन् ।

अध्यक्ष शर्माले नेटवर्कमा नागरिक समाजका अगुवा, सरकारी निकायका प्रतिनिधि लगायतको सहभागिता रहने भएकाले पत्रकारलाई सुरक्षासँगै सूचनाको पहुँच बढाउन सहयोग पुग्ने भनाइ व्यक्त गरिन् । आमनागरिक समाजको पत्रकारिताप्रति रहँदै आएको विश्वासलाई जोगाउन पत्रकारले विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।

उनले विगतका दिनमा देशभरका सामसञ्चार माध्ययमले विभिन्न सङ्कट झेल्दै आएको उल्लेख गर्दै सञ्चारमाध्यमले झेल्दै आएको आर्थिक सङ्कटका कारण पत्रकार पलायन हुने अवस्था रहेको स्मरण गरिन् ।

यसैबीच आजै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहको नेतृत्वमा १७ सदस्यीय फ्रि मिडिया नेटवर्क गठन गरिएको छ । उक्त नेटवर्कमा नागरिक समाज, सरकारी निकाय र पत्रकार सम्बद्ध विभिन्न संगठनका प्रतिनिधिहरु छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया