२०८२ भाद्र ६ | Aug 22, 2025

प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १

ललितपुर । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२\०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गरे ।

बजेटको सैद्धान्तिक छलफलमा कांग्रेसका तर्फबाट डा. प्रकाशशरण महत, एमालेका तर्फबाट भीम आचार्य, माओवादीका तर्फबाट वर्षमान पुन र एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डेले भाग लिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने आजको बैठकमा पनि भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनु पर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै विरोध गरेका थिए । विरोधकाबीच सभामुख घिमिरेले सदन सञ्चालन गरेका थिए ।

आजको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस गरे । जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतीले विधेयक पारित गरेको थियो । त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ टेबुल भयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया