२०८२ भाद्र ६ | Aug 22, 2025

‘पाँच वटा जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अमरेशको अभिव्यक्ति हटाउन सभामुखको निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ८

ललितपुर । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसद्मा दिएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न सांसद सिंहलाई समय दिएकोमा उनले बढी बजेट पाँच वटा जिल्लामा दिइएकाले तीबाहेकका जिल्ला अरु देशलाई भाडामा दिए हुने अभिव्यक्ति दिएका थिए ।
सांसद सिंहको अभिव्यक्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ बमोजिम नियमापत्ति जनाएका थिए । सांसद सिंहले राष्ट्रघाती अभिव्यक्ति दिएको मुख्य सचेतक बर्तौलाले बताए । सांसद सिंहले बोलिरहँदा पटकपटक सभामुख घिमिरेले संसदीय भाषा प्रयोग गर्न निर्देशन दिएका थिए ।

छलफलको क्रममा सिंहले बजेट नजाने जिल्ला नेपालमा किन राख्ने ? प्रश्न गर्दै ७२ जिल्ला चीन, अमेरिका भारतलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

बर्तौलाले सिंहको त्यो भनाइमा नियमापत्ति जनाउँदै राष्ट्रघाती अभिव्यक्ति दिएकोमा सिंहलाई कारबाही गर्न माग गरे ।

‘देशलाई अन्यत्र गाभौं भन्ने देशद्रोही अभिव्यक्ति । सार्वभौमिकता, अखण्डताविरोधी भनाइ राख्नेलाई कारबाही गर्नुपर्छ । विगतमा पनि उहाँको अभिव्यक्ति राम्रो छैन । हामी राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सक्दैनौं । कारबाहीको विषय बनाइयोस्’, बर्तौलाले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया