२०८२ असार १३
102 views

ललितपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्तव बोकेको काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रका रूपमा प्रवद्र्धन गर्न सकिने बताएका छन् ।
आज वीरेन्द्रनगरमा आयोजित ‘काँक्रेविहार खोज, अनुसन्धान तथा पर्यटन महोत्सव एवं युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेविहारको महत्त्व बुझ्न र सम्भावनालाई उजागर गराउन सरोकार भएका सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
काँक्रेविहारलाई खुला चिडियाखानाका रूपमा विकास गर्न चरणबद्ध योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले त्यसले शिक्षा, पर्यटन र रोजगारीका क्षेत्रमा सम्भावना खोल्दै जाने विश्वास व्यक्त गरे । “पर्यटकीय पूर्वाधार, सूचना प्रविधि, वातावरण संरक्षण र स्थानीय सहभागितामार्फत काँक्रेविहारलाई व्यवस्थित गर्ने योजना जरुरी छ”, उनले भने, “हामीले विकासको कुरा मात्र नगरी सम्भावना बोकेका क्षेत्रको पर्यटन प्रवद्र्धनमा सबै मिलेर प्रभावकारी पहल गर्न जरुरी छ ।”
तीनै तहका सरकार, नागरिक समाज, अनुसन्धानकर्ता, विद्यार्थी र निजी क्षेत्रबीचको सहकार्य र समन्वयबाट काँक्रेविहारको पहिचान विस्तार गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए । उनले यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धनमा सहभागी भई उद्यमशीलताको अवसर खोज्न स्थानीय युवालाई आह्वान गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया