२०८२ आश्विन १६ | Oct 02, 2025

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १६
|
408 views

ललितपुर उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको बताउनुभएको छ । संसद् दिवस, २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “संसद् प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने बिषय बहसमा रहेको हुँदा संसद्लाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन हामी सबैमा हुनुपर्छ, संसद् कमजोर हुँदा जनताका आवाजहरु दबाइन्छन् यसैले संसदीय सर्वोच्चताका लागि हामी सबै लाग्न जरुरी छ ।” शुभकामना सन्देशमा भनिएको छ, “संसद् दिवसले सङ्घीय संसद््का सदस्यहरु, संविधानसभा सदस्यहरु, पूर्वसांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आमनेपाली जनतामा संसद्ीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।” विसं २०१६ साल असार १६ गते नेपालमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद् दिवस मनाउने गरिन्छ ।

उपसभामुख रानाले दिवसको अवसरमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा होमिएका सबै जनताको अपेक्षा सबैले निती र ब्यबहारबाट पूरा गर्न अग्रसर हुन आह्वान पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “प्रजातान्त्रिक व्यवस्थाको मूल आधार विधायिका हो, जसको प्रतिनिधित्व संसद्ले गर्छ, संसद् नागरिकको आवाज, आकाङ्क्षा, विचार र आवश्यकता बोकेको संस्था हो, जसले नीति, कानुन, योजना र अनुगमनमार्फत शासन व्यवस्था चलायमान राख्न महत्वपूर्ण भूमिका खेल्दछ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया