२०८२ भाद्र ७ | Aug 23, 2025

आर्थिक वर्ष २०८४/८५ सम्ममा संघीय बजेटको आकार बढाएर २४ खर्ब पुर्याइने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १७

ललितपुर । सरकारले आर्थिक वर्ष २०८४/८५ सम्ममा संघीय बजेटको आकार बढाएर २४ खर्ब बढी पुर्याइने भएको छ । राष्ट्रिय योजना आयोगले बनाएको मध्यकालिन खर्च संरचनाअनुसार आगामी वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । आ.व. २०८४/८५ सम्ममा यसलाई बढाएर २४ खर्ब ८ अर्बको बजेट ल्याउने महत्वकांक्षी योजना राखेको हो ।

यस्तै २०८३/८४ मा २१ खर्ब २८ अर्बको बजेट ल्याउने सरकारी योजना छ । चालु आर्थिक वर्षमा सरकारले १६ खर्ब ६२ अर्बको बजेट कार्यान्वय गरिरहेको छ । जसको कार्यान्वयन प्रभावकारी छैन ।

महालेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार चालु चालु आर्थिक वर्षको कुल बजेट १६ खर्ब ६२ अर्ब मध्ये असार १६ गते सम्म जम्मा १३ खर्ब ७९ अर्ब बजेट खर्च भएको देखिन्छ । पछिल्ला केही वर्षमा चालु खर्च आकासिएको छ भने विकास बजेट खुम्चिदै गएको देखिन्छ ।

चालु आर्थिक वर्षमा चालु खर्चमा ११ खर्ब ४० अर्ब बजेट छुट्याइएकोमा ९ खर्ब १० अर्ब बजेट सकिसकिएको छ भने विकासतर्फ हेर्ने हो भने पूँजीगत बजेट ३ खर्ब ५२ अर्ब छुट्याइएकोमा १ खर्ब ५९ अर्ब मात्रै खर्च भएको देखिन्छ । यस्तै ३ खर्ब ६७ अर्ब बजेट ऋणको दायित्व व्यवस्थापनका लागि छुट्टाइएकोमा असार १६ सम्म ३ खर्ब ९ अर्ब बजेट खर्च भइसकेको छ ।

त्यसैगरी सरकारले आगामी आर्थिक वर्ष २०८४/८५ सम्ममा चालु शिर्षकमा ८ खर्ब ५३ अर्ब भन्दा बढी विनियोजन गर्नुपर्ने अवस्था आउने त्रिवर्षीय मध्यकालिन खर्च संरचनामा राखेको छ । सो आर्थिक वर्षसम्म पुँजीगत शिर्षकमा ५ खर्ब ९८ अर्ब बजेट छुट्याउने योजना सरकारको छ । वित्तीय व्यवस्थातर्फ ४ खर्ब १७ अर्ब बजेट छुट्टाउने सरकारी योजना छ ।

सरकारले २०८४ सम्म स्थानीय तथा प्रदेश सरकारहरुलाई दिने अनुदानमा करिव २ अर्बले वृद्धि गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्षमा वित्तीय हस्तान्तरणअन्तर्गत संघीय सरकारबाट ३ खर्ब ६१ अर्ब बजेट पठाउँदै आइएको छ । यो रकमलाई २०८४/८५ सम्ममा ५ खर्ब ३९ अर्ब पुर्याउने योजना सरकारको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया