२०८२ फाल्गुन ६ | Feb 18, 2026

एक अर्बको जैमिनी नागरिक स्वास्थ्य उपचार कोष

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २१
|
459 views

गलकोट (बागलुङ) बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । एक अर्बको कोष बनाउने लक्ष्य रहेकामा कोषमा रु ५० लाख १० हजार जम्मा भइसकेको जैमिनी नगरपालिकाले जनाएको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउनका लागि जैमिनी नगरपालिकाले रु एक अर्बको जैमिनी नागरिक उपचार कोष बनाउने लक्ष्यका साथ तीन वर्षअघि कोष घोषणा गरेको थियो । तीन वर्षअघि नगरपालिकाले रु १० लाख जम्मा गरेर घोषणा गरेको कोषमा गत वर्ष रु १५ लाख र यस वर्ष रु २५ लाख जम्मा गरिएको छ । कोषको ब्याजबाट नागरिकहरूको स्वास्थ्य उपचारका लागि सहायता प्रदान गर्ने लक्ष्यसहित कोष निर्माण थालिएको बताउँदै आगामी एक वर्षमै कोष वृद्धि भएर एक करोड पुर्‍याइने जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले बताउनुभयो ।

सामाजिक सुरक्षाको दृष्टिकोणबाट स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नको लागि नगरपालिकाले कोष स्थापना गरेको पुनको भनाइ छ । “दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पुर्‍याउने लक्ष्य रहेको छ, उक्त कोषमा रु एक अर्ब जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पुर्‍याउन सकिन्छ, कोषमा आम नागरिकले समेत सहयोग प्रदान गर्न सकिने छ”, पुनले भन्नुभयो, “कोषमा पालिकाले बर्सेनि नीति तथा कार्यक्रममार्फत रकम थपिँदै लैजाने गरिएको छ, आगामी दिनमा रकम अभावमा उपचार गर्न नसकेर नागरिक मर्न नपर्ने हाम्रो चाहना छ ।” कोषमा हालैमात्र नगरपालिकाका योजना शाखा प्रमुख प्रेमप्रसाद सापकोटाले जन्मदिनको खर्च कटाएर रु १० हजार सहयोग गर्नुभएको छ । सापकोटाले कोषको सकारात्मक सन्देश फैलाउन व्यक्तिगत रूपमा आफूले पहिलो योगदान गरेको बताउनुभयो । नगरपालिकालले कर्मचारी, जनप्रतिनिधि तथा सर्वसाधारणले समेत कोषमा योगदान गर्न आह्वान गरेको छ । क्यान्सर, मुटुरोग, मिर्गौलाजस्ता उपचारमा ठूलो खर्च लाग्ने रोगका लागि नगरपालिकाले कोषको ब्याजबाट सहयोग उपलव्ध गराउनेगरी नीति बनाउन लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया