२०८२ फाल्गुन ६ | Feb 18, 2026

एलन मस्कले गठन गरे नयाँ राजनीतिक दल, नाम ‘अमेरिका पार्टी’

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २२
|
1.5k views

ललितपुर। विश्वका सबैभन्दा धनाढ्य अमेरिकी अर्बपति व्यापरी एलोन मस्कले नयाँ राजनीतिक पार्टी गठन गरेको घोषणा गरेका छन् । उनले नयाँ राजनीतिक दल गठनगरेका कुरा शनिबार सार्वजनिक गरेका हुन् । मस्कले आफ्नो दलको नाम ‘अमेरिका पार्टी’ राखेका सीएनबीसी न्युजले जनाएको छ ।

एक दिनअघि उनले सामाजिक सञ्जाल एक्समा अमेरिका पार्टी गठन गर्न समर्थन गर्ने कि नगर्ने भनी सोध्दै एक सर्वेक्षण पोस्ट गरेका थिए । “२ देखि १ को अनुपातमा तपाईंहरू नयाँ राजनीतिक पार्टी चाहनुहुन्छ र तपाईंहरूले त्यो पाउनुहुनेछ १,” मस्कको एक्स पोस्टमा उल्लेख छ ।

नयाँ पार्टीले अमेरिकीलाई स्वतन्त्रता फिर्ता दिने पनि उनले जिकिर गरेका छन् । नयाँ पार्टीले केवल दुई वा तीन सिनेट सिट र आठदेखि १० हाउस जिल्लामा ध्यानकेन्द्रित गर्न सक्ने उनले बताएका छन् ।

“संसद्हरूमा कानुन निर्माण गर्दा हुने थोरै मतको मार्जिनलाई ध्यानमा राख्दा यो पार्टीले विवादास्पद कानुनहरू निर्माण गर्दा निर्णायक मतको रूपमा काम गर्न पर्याप्त हुनेछ, जसले जनताको साँचो इच्छालाई सेवा गर्छ,” मस्कले शुक्रबार भनेका थिए ।

तर, मस्कले पार्टी कहाँ दर्ता हुनसक्छ भनेर बताएनन् । संघीय निर्वाचन समितिमा यो दर्ता भएको देखिँदैन ।

सन् २०२४ को राष्ट्रपति निर्वाचन अभियानमा मस्क सबैभन्दा ठूलो दाता थिए । उनले पूरै अवधिमा २८० मिलियन डलरभन्दा बढी चन्दा दिए । मुख्य रूपमा राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्प र अरू रिपब्लिकनलाई पनि उनले समर्थन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया