२०८२ फाल्गुन ३ | Feb 15, 2026

निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन स्थानीय तह र जिससलाई परिपत्र

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १२
|
1.4k views

ललितपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन सुनिश्चित गर्न देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र जारी गरेको छ ।

निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले आ–आफ्नो क्षेत्रमा लागू गराउनुपर्ने उल्लेख गर्दै मन्त्रालयले पत्राचार गरेको हो । मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी पत्रमा उक्त विषय स्पष्ट गरिएको छ ।

सरकारले पुस १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आचारसंहिता सार्वजनिक गरेको थियो। निर्वाचन आयोगले अर्को सूचना जारी नगरेसम्मका लागि आचारसंहिता लागू रहने जनाएको छ ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता लागू गरिएको हो। मन्त्रालयले आवश्यक जानकारी तथा कार्यान्वयनका लागि सबै स्थानीय तह र जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया