२०८२ फाल्गुन ६ | Feb 18, 2026

हेटौँडाको साबुन उद्योगमा आगलागी, गोदामका सबै सामग्री नष्ट

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ११
|
1.1k views

ललितपुर । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा गए राति आगलागी भएको छ । तयारी साबुन तथा कच्चा पदार्थ भण्डारण गरिएको गोदाममा विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार आगलागीका कारण गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ र प्याकिङ सामग्री जलेर नष्ट भएका छन् । क्षतिको यकिन विवरण तत्काल निकाल्न नसकिएको बताउँदै उहाँले प्रारम्भिक रूपमा करिब १० देखि १२ करोड रुपैयाँ बराबरको नोक्सानी हुनसक्ने अनुमान गर्नुभएको छ ।

मध्यरातमा अचानक आगलागी भएपछि सुरक्षानिकायलाई खबर गरी आगो निभाउने प्रयास गरिए पनि तत्काल नियन्त्रणमा लिन नसक्दा क्षति ठूलो भएको उहाँको भनाइ छ ।

आगलागीको सूचना पाएलगत्तै हेटौँडा उपमहानगरपालिकाका दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा केही समयअघि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया